पतञ्जलिको जन्म अर्घाखाँचीमा भएको पुष्टि
काठमाडौं । आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा विष्णुराज आत्रेय (लाटोसाथी)ले ‘पतञ्जलि’ पुस्तकमार्फत उहाँको जन्म अर्घाखाँचीको शीतगङ्गा पलटेमा भएको तथ्य सार्वजनिक गरेका हुन् ।
डा आत्रेयले विभिन्न शास्त्रीय उत्खननबाट अर्घाखाँची, प्यूठान र दाङको सिमानामा पर्ने सो ठाउँमा पतञ्जलिको जन्म भएको तथ्य फेला पारेको बताएका छन् । वाल्मीकि क्याम्पसमा आयोजित कार्यक्रममा पुस्तकका लेखकले पतञ्जलिका बारेमा प्रकाश पार्दै पतञ्जलि नेपालमा जन्मिएका बारे करीब दुई सय उदाहरण पेश गरेर पुस्तक तयार पारेको बताए ।
“झट्ट सुन्दा शुरुमा अपत्यारिलो पनि लाग्न सक्छ, पुस्तक पढिसकेपछि पत्याउन केही गाह्रो पर्दैन ।” उनले भने । पुराण, महाभारतको अध्ययन र विभिन्न खोज–अनुसन्धानबाट पतञ्जलि अर्घाखाँचीमा जन्मिएको तथ्य फेला पार्न सकिएको बताउँदै उनले पतञ्जलिको जन्म भएको क्षेत्रमा विभिन्न संरचना निर्माण गरी सो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान पु¥याउनुपर्ने भएको बताएका छन् ।
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्म भुसाल, डा चिरञ्जीवी भट्टराई, सर्वोच्च अदालतका उपसचिव अशोक क्षेत्री, शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा कार्यरत टेकनारायण पाण्डे, शीतगङ्गा सेवा समाजका अध्यक्ष लालमणि पाण्डे, अधिवक्ता गोपाल घिमिरे, पत्रकार अर्जुन भुसाललगायतले मन्तव्य राख्दै पतञ्जलिको जन्म नेपालको अर्घाखाँचीमा भएको विषयलाई प्रचारप्रसार गरी विश्वसामु पु¥याउनुपर्नेमा जोड दिएका छन् ।