समाज

लघुवित्तकी कर्मचारीको हत्यामा संलग्न युवक खुकुरीसहित पक्राउ

फिदिम : गत मंगलबार हिलिहाङ गाँउपालिका–६ केराबारीस्थित सिटे जङ्गलमा लघुवित्तकी कर्मचारीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिलिहाङ–३ गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलामकी २२ वर्षीया सुजाता तामाङको हत्यामा संलग्न हिलिहाङ–६ केराबारीका १९ वर्षीय जस्मिन भनिने घनेन्द्र लावती पक्राउ परेका हुन् । प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले लावतीलाई बिहीवार अपरान्ह जङ्गलमा लुकेको अवस्थामा फेला पारेको हो ।

लावतीको साथबाट तामाङबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए। हत्यामा संलग्न लावतीमाथि थप अनुसन्धान थालिएको उनले बताए।

हिलिहाङ गाँउपालिका–६ का सेर्चेप्पा र रातमाटे टोलमा एनएमबी माइक्रोफाइनान्सका दुई समूहको बैठक गरेर मेची राजमार्गस्थित जोरपोखरी बजार फर्कँदै गरेकी प्रशिक्षार्थी कर्मचारी तामाङको मंगलबार दिउँसो घाँटी, पेट र हातमा खुकुरी प्रहार गरी हत्या भएको थियो । प्रत्येक महिनाको ३ गते हुने दुवै सूमहको बैठक गरेर गोरेटो बाटो हिँड्दै गएकी तामाङको सिटे जङ्गलको सिद्धे खोल्सामा हत्या भएको थियो । घटनास्थल घना जङ्गलबीचमा रहेकाले आवाज बस्तीसम्म सुन्न नसकिने अवस्था रहेको वडाध्यक्ष कृष्णबहादुर यवाले बताए। इलामको माइजोगमाई गाँउपालिका–२ घर भएकी तामाङ ६ महिनादेखि लघुवित्तमा काम गर्दै आएकी थिइन्।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker