त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अब २१ घन्टा खुल्ने, ट्याक्सी वेको काम भने बाँकी
काठमाण्डौँ । गएको चैत १८ गतेदेखि १४ घन्टा मात्रै खुलेको त्रिभुवन विमानस्थलमा भइरहेको पुरानो पिच भत्काएर नयाँ पिच राख्ने काम सकिएपछि आजबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घन्टा खुल्ने भएको छ । विमानस्थलको रन वे मा पुरानो पिच भत्काएर नयाँ पिच राख्नको लागि गएको चैत १८ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर पिच निर्माणको काम सम्पन्न भएसँगै आजबाट २१ घण्टासम्म विमानस्थल खुल्न लागेको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । स्रोतका अनुसार आजबाट विमान कम्पनीले पुरानै तालिका अनुसार उडानको समय मिलाएका छन् ।
यद्यपी आन्तरिक उडानको लागि भने बिहान ५ बजे नै विमानस्थल खोलेर उडान गरिँदै आएको छ । यद्यपी ट्याक्सी वे को काम भने बाँकी नै छ । तर बर्खा लागिसकेकाले ट्याक्सी वे को काम सेप्टेम्बरदेखि मात्रै सुरु हुने विमानस्थल स्रोतले जनाएको छ। नेपाल नागरिक उडड्न प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेशनसँग चार अर्ब २७ करोड रुपैयाँमा सम्झौता गरेर काम रन वे र ट्याक्सी वे मर्मतको काम सुरु गरेको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए ।