पर्वतमा बाँदरको आतंक– बारीको मकै खाएपछि घरमा गएर आक्रमण !
पर्वत– बारीमा लगाएको मकै, तरकारी र फलफूलमा समेत बाँदरले क्षति पु¥याएपछि पर्वतको विहादी गाउँपालिकाका हैरान बनेका छन् ।बाँदरले मकैसँगै बारीमा लगाएको तरकारी र फलफूल समेत सखाप पारेको किसानले गुनासो गरेका छन् ।‘खेतबारीमा लगाइएको खेतीबाली सबै बाँदरले सखाप पा¥यो,’ विहादी गाउँपालिका– सिङसियाकी रन्नता पाठकले रासससँग भनेकी छन् । पाठकका अनुसार बाँदरमा घर घरमा छिरेर बच्चा र बृद्ध–बृद्धामाथि समेत आक्रमण गर्न थालेको छ ।
बाँदरको आतंककै कारण ५ रोपनी जमीनमा लगाइएको तरकारी र फलफूल खेतीसमेत गर्न छाड्नुपरेको पाठकले सुनाइन् । ‘पकाएको खाना र भाँडासमेत बाँदरले बोकेर लैजान थालेको छ । बाँदरको आतंकका कारण यहाँका मानिसहरुले अन्तै बसाइँसराइ गर्न थालेका छन्,’ पाठकले भनिन् ।विहादी गाउँपालिका– ५ उरामका एकनारायण काफ्ले ३ रोपनीमा लगाइएको तरकारी खेती र २२ रोपनी जमीनमा लगाइएको मकै बाँदरले सखाप पारेपछि अहिले सबै बाँझो बनेको बताउँछन् ।
गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालका अनुसार गाउँपालिका भरि लगाइएकोमध्ये ३३ प्रतिशत मकै बाँदरले खाइसकेको बताउँछन् ।यसलाई मार्न कानूनी रुपमा बन्देज भए पनि अधिकांश किसानबाट सोही उपाय अपनाएर भए पनि समस्याको समाधान गर्नुपर्ने माग आउने गरेको उनले सुनाए ।गाउँपालिका परिषद्बाट बाँदर नियन्त्रणका लागि केही बजेट विनियोजन गरिएको पनि उनले बताए । यद्यपि बाँदरलाई नियन्त्रणमा लिने नयाँ प्रविधिबारे छलफल भइरहेको अध्यक्ष भुसालको भनाइ छ ।