हेडलाईन

प्रचण्ड पाइलट कि को-पाइलट ?

काठमाडौं, असार १९ –  दुई पार्टी एकीकरणक्रममा नेकपाभित्र दुई अध्यक्ष किन राखियो भन्ने प्रश्नमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले जवाफ दिएका थिए, ‘जेटमा दुई पाइलट हुन्छन् । दुई पाइलट भएको जेट डुब्दैन।’ओलीले भनेजस्तै एकीकरणको १३ महिनापछि जहाजले उल्टो दिशा समातेको छ । दुई नेताबीच अविश्वास यति बढेको छ कि व्यवहारमा ओली पाइलट र अर्का अध्यक्ष पुष्पकमल दाहाल को–पाइलटको भूमिकामा सीमित भएको गुनासो पूर्वमाओवादी केन्द्रका नेताहरूले गर्न थालेका छन्।

दाहालनिकट नेता हरिबोल गजुरेलका अनुसार सरकारमा आलोपालो गर्ने सहमति र पार्टीमा दुई अध्यक्ष हुनुको अर्थ बराबरी हैसियत हो। यो खबर आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन्।एकीकरणयता अध्यक्ष दाहालले एक पटक पनि बैठक अध्यक्षता गर्न पाएका छैनन् । ओलीको अनुपस्थितिमा पार्टी र सचिवालयको बैठक बोलाउने अख्तियार पनि दाहाललाई छैन।

‘एकैपटक बैठकको अध्यक्षता गर्न दिइए पनि पार्टीभित्र भावना बढ्थ्यो, बराबरी हैसियतमा रहेका अध्यक्षले ओलीको अनुपस्थितिमा बैठक बोलाउन किन नपाउने?’ गजुरेलले भने, ‘प्रश्न बैठक बोलाउन र अध्यक्षता गर्न नपाएकोमा होइन । भावनाको कुरा हो । एकैपटक बैठकको अध्यक्षता गर्न दिइएको भए पनि नेता–कार्यकर्तामा भावनात्मक सम्बन्ध बन्थ्यो, विवाद सतहमा आउँदैनथ्यो।’

एक वर्षभित्रै महाधिवेशन हुने टुंगो नलाग्नु र सहमतिअनुसार सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा समेत ओली अनुदार बन्दै जानुले पूर्वमाओवादी केन्द्रका नेताहरूलाई झस्काएको छ।एकीकरणका बखत भएको सहमति र आन्तरिक शक्ति सन्तुलनको हिसाबले दाहाललाई एक वर्षपछि सरकार वा पार्टीको नेतृत्व दिनुपर्ने पूर्वमाओवादी केन्द्रका नेताहरूको भनाइ छ । जसलाई ओलीले सकारात्मक नलिएपछि दुई अध्यक्षबीच मनमुटाव सार्वजनिक रूपमै सतहमा आएको छ।

सोमबार पार्टी संसदीय दलको बैठकमा समेत सांसदहरूले पार्टी र सरकार सञ्चालनको विषयलाई लिएर दाहालप्रति भन्दा ओलीप्रति नै बढी कटाक्ष गरेका थिए।एमालेकै माधव नेपाल खेमा र माओवादी पृष्ठभूमिका सांसद ओलीविरुद्ध खनिएका थिए । केही दिनअघि गुठी विधेयकलाई लिएर राजधानीमा उर्लिएको जनसागर र पार्टीभित्रैबाट आफूविरुद्ध आलोचना बढ्न थालेपछि ओली केही हच्केका छन् । बाहिर आएका सबै विवाद मत्थर पार्न भन्दै दुई अध्यक्ष निरन्तर छलफलमा जुटेका छन्।

एमाले नेता सुवास नेम्वाङले दुई अध्यक्ष खुलेर छलफलमा बस्न थालेको बताए । गजुरेलले पनि पार्टी संसदीय दलको बैठकपछि प्रधानमन्त्री ओली पछि हटेको अनुभव आफूले पाएको बताए।दुई अध्यक्षको बराबरी हैसियत भावनात्मक रूपमै देखिने गरी पार्टी एकीकरणका काम टुंगोमा पुग्नुपर्ने गजुरेलको भनाइ छ । पार्टीमा ओलीकै हैसियत आफूले नपाएपछि दाहाल र उनीनिकट नेताहरूले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिलाई सार्वजनिक बहसमा ल्याएका थिए।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker