समाज

पाँच महिनादेखि बालक सम्पर्कविहीन, शोकमा परिवार

पछिल्लो समय यहाँ बालबालिका हराउने क्रम बढ्दै गएको छ।बालबालिका को, कहाँ, कहिले र कति सङ्ख्यामा हराउँछन् भन्ने यकिन तथ्याङ्क भने सजिलै पाउन सकिँदैन। यो क्रम गाउँभन्दा शहरमा बढी छ। गरीबी, अशिक्षा र अभावले शहर पस्ने बालबालिका विभिन्न घटनाको शिकार हुँदै गएका छन्।

यही क्रममा तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँका १२ वर्षीय बालक सुरेश शाही पाँच महीनादेखि काठमाडौँ मण्डिखाटारबाट सम्पर्कविहीन छन्। उनी कहाँ र कुन अवस्थामा छन् भन्ने कुराको अत्तोपत्तो नहुँदा सुरेशका आमा राज्यलक्ष्मी शाही र बुबा गोरबहादुर शाही अहिले चिन्तित छन्।

दुई वर्षअघि बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटार काठमाडौँका बलराम विष्टले छोरा समान रेखदेख र पठनपाठन गर्ने भनेर सुरेशलाई लिएर गएको बुबा गोरबहादुरले बताए। तर ०७५ फागुन २३ गतेदेखि विष्टकै घरबाट उनी हराएका छन्। छोराको खोजी गरिदिन उनले सरोकारवाला सबैसँग आग्रह गरेका छन्।

बाँसबारी मावि काठमाडौँमा अध्ययनरत उनी अहिलेसम्म नभेटिएकाले सम्पर्कविहीन भएकै दिनमा महानगरीय प्रहरी वृत्त काठमाडौँमा खोजतलासका लागि हुलियासहितको निवेदन दिएको घरधनी बलराम विष्टले जानकारी दिए। २०७३ साल चैत ७ गते आफूले पढाइ दिने भनेर बालक सुरेशलाई लगेको उनले बताए।

उनले भने, ‘घरको जिम्मेवारी दिएर बसालेका थियौँ तर रु पाँच हजार र आफ्ना लुगा लिएर ऊ बाहिरिएको छ। कहाँ, कता र किन गयो भन्ने कारण बुझ्न सकिएको छैन।’ बाल अधिकारका क्षेत्रमा कार्यरत प्रदीप श्रेष्ठसमेत बालक शाहीको खोजीमा अनवरत लागिपरेको उनको भनाइ छ।

यता महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बालकको खोजतलासका लागि प्रहरीको विभिन्न एकाइमा फोटो पठाइएको र खोजी कार्य जारी रहेको बताए। यसमा सम्बन्धित घरधनी बलराम विष्ट जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ थियो। बालक अपहरण नभई हराएकाले यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उनले आग्रह गरे।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker