राजनीति

सदनमा उठेका विषयमा जवापल दिन सभामुखको सरकारलाई रुलिङ

काठमाडौं, २२ असार । सभामुख कृष्णबहादुर महराले सांसदहरुले बैठकमा उठाएको विषयहरुको आगामी बैठकमा जवान दिन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधि सभाको आजको आजको बैठकको शुरुमै सभामुखसँग समय मागेर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड तथा राजपा नेपालका सांसद प्रमोद शाहले भारतबाट विषादी युक्त तरकारी तथा फलफूल नेपाल भित्रिने गरेको भन्दै सरकारले परिक्षण गरेर मात्र भित्रिन दिने निर्णय गरेकोमा अहिले सरकारले एकाएक सो निर्णयबाट पछि हट्नुको कारणबारे सदनलाई जानकारी गराउन माग गरेका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक खाँडले संघीय संसदमा उठेका विषयमा कार्यपालिकाले गम्भिरता पूर्वक नलिएको र शक्ति पृथकीकरणको सिद्धान्त नमानेको भन्दै सभामुख मार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । प्रमुख सचेतक खाँडले सर्लाहीमा कुमार पौडेललाई प्रहरीले मुडभेडको नाममा पक्राउ गरी अंगभंग गराएर पछि गोली हानी हत्या गरेको भन्दै यस विषयमा गृहमन्त्रीको जवाफ माग गरेका थिए ।

त्यस्तै राजपा नेपालका सांसद प्रमोद साहले देशका विभिन्न भागमा मानव अधिकार उल्घनका घटना बढीरहेको भन्दै सर्लाहीमा अवैध क्रसर मेसिनले मापण्ड भन्दा गहिरा खाल्डो खन्दा एकजना बालकको सो खाल्डोमा डुबेर मृत्यु भएको बताएका थिए । उनले अवैद्य तरिकाबाट संचालित उक्त क्रसर उद्योगलाई स्थानीय प्रशासनले पनि कारबाही नगरी मौन बसेर सघाई रहेको आरोप लगाएका थिए । प्रतिनिधि सभाको आजको बैठकमा विरुवा संरक्षण(पहिलो संशोधन) विधेयक, २०७५, बीऊ वीजन (दोस्रो संशोधन)विधेयक, २०७५ र खानेपानी तथा सरसफाई विधेयक २०७५ पेश भएको छ ।

बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले विरुवा संरक्षण(पहिलो संशोधन) र बिउ विजन (दोस्रो संशोधन) विधेयक पेश गरेका छन् भने खानेपानीमन्त्री विना मगरले खानेपानी तथा सरसफाई विधेयक, २०७५ पेश गरेकी हुन् । बैठकमा संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देश सहित फिर्ता पठाइएको राहदानी विधेयकका बारेमा सदनलाई जानकारी गराए ।

त्यस्तै, प्रधानमन्त्री केपीशर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७४÷७५ सदन समक्ष पेश गरेका छन् । प्रतिनिधि सभाको अर्को बैठक असार २४ गते मंगलवार विहान ११ वजे बस्ने भएको छ ।
यसैबीच, आजै बसेको राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०७६ का सम्बन्धमा विभागीय मन्त्रीहरु जवाफ दिनेक्रम आज पनि जारी रह्यो । विनियोजन विधेयक माथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको आज ६ जना मन्त्रीहरुले जवाफ दिएका हुन् । बैठकमा महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, कृषि तथा पशुपंक्षि विकामन्त्री चक्रपाणि खनाल, संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिएका थिए । विभागीय मन्त्रीले भोलिको बैठकमा पनि जवाफ दिने कार्यक्रम रहेको छ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker