अर्थ खबर

भारतीय विषादी तरकालीले नेपालीलाई सास्ती

काठमाडौँ , असार २३ । तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि। तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन्।भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयोगशाला छैन।

नेपाली व्यवसायीले नमुना परीक्षण गराउन कोलकाता पुग्नुर्छ। दसदेखि १५ दिनमा मात्र रिपोर्ट हात लाग्छ। भारतले दिने गरेका यस्ता सास्तीबारे भने सरकारले चासो दिएको छैन।नमुना परीक्षण गर्न लैजाँदा नेपाली उत्पादन सीमा नाकामै रोक्ने गरिएको छ। त्यस अवधिका धेरै कृषिजन्य बस्तुको गुणस्तर घट्ने र गुम्सिएर कुहिने गरेको नेपाली व्यापारी बताउँछन्।

भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रविन भट्टराई र राधा खनालले लेखेका छन्।पूर्वी नाका झापाको काँकडभिट्टा र मोरङको विराटनगरबाट भारत निकासी गर्ने कृषिजन्य बस्तुको नमुना कोलकाता लैजाँदा व्यापारीको ठूलो खर्चसमेत हुने गरेको छ।

‘हामीले लगेका कृषिजन्य बस्तुको भारतीय सीमामा परीक्षण हुँदैन, कोलकाताको प्रयोगशालामा लगेर परीक्षणपछि रिपोर्ट ल्याउनुपर्छ। त्यति काम सकिन १५ दिनसम्म लाग्ने गरेको छ,’ विराटनगरका व्यापारी अनिस श्रेष्ठले भने।

टाढा रहेको कोलकाताबाट लामो समयपछि रिपोर्ट आउँदा धेरैजसो कृषिजन्य वस्तु राखेकै ठाउँमा सड्ने गरेको उनको अनुभूति छ। ‘३–४ दिनमा रिपोर्ट आए केहि फरक पर्दैन। १५ दिनसम्म सीमानामा पर्खेका छौ,’ उनले भने, ‘भारतले नेपाली बस्तुको विषादी मापनमा कडाई गरेको लामो समय भयो। तर, भन्सारमा प्रयोगशाला नराखी चलाइरहेको छ।’

नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुहरूमा तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवा, दाल, कोपीलगायत छन्। सबै वस्तुको भारतले पुर्णरुपमा विषादी परीक्षण गरेर मात्र भित्र्याउने गरेको छ।

नेपालबाट जाने कृषिजन्य बस्तु उतै बढि उत्पादन हुने समयमा भारतले विषादी मापनको नाममा महिना दिनसम्म नाकामा रोकिदिएको अनुभवन नेपाली व्यवसायीसँग छ।

कहिले चिया त कहिले अदुवा अनि कहिले अलैंचीको निर्यातमा भारततर्फबाट अवरोध हुँदै आएको अलैँची व्यावसायी महासंघका केन्द्रीय सचीव मातृृका घिमिरे बताउँछन्।

‘भारतमै पनि चिया, अदुवा र अलैंची उत्पादन हुन्छ। आफ्नो देशको पहिले बेच्न कहिले काँही महिना दिनसम्म पनि सीमानामा हाम्रा उत्पादन रोकिन्छ। यसमा नेपाल सरकारले चासोनै दिदैन, हामिले धेरैपटक ध्यानाकर्षण गराएका छौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker