वामपन्थी नेता अधिकारीको उपचारका क्रममा निधन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी०का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ । नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमा उपचाररत् अधिकारीको निधन भएको हो । अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका अनुसार सघन उपचार कक्षमा उपचाररत् अधिकारीको राति ८ः०२ बजे निधन भएको हो । स्व नेता अधिकारीको सोमबार अन्तिम श्रद्धाञ्जलीसँगै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
गएको पुस २७ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना हुनुभएका उहाँलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धि लगिएको थियो । उनको फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघातसमेत भएको थियो ।नेता अधिकारीलाई शनिबार साँझ पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेटेका थिए भने आइतबार नेता नारायणकाजी श्रेष्ठ, सिपी गजुरेल, पूर्णकुमारी श्रेष्ठलगायतका नेताहरुले भेटेका थिए ।
विसं २०१२ साउनमा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिएका अधिकारी विसं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए । माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका उनलाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासनसमेत दिएका थिए । अधिकारीका छोरा नारायण उक्त पार्टीको गोर्खा जिल्ला इञ्चार्ज र बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्यका रुपमा काम गरिरहेका छन् ।