समाचार
नेपाल प्रहरीको सिआइवीमा कार्यरत डिएसपी हुँ भनी ठगी गर्ने एक जना पक्राउ
नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भनी ठगी गरेको आरोपमा काठमाडौँको नागार्जुन नगरपालिका–७ सीतापाइलाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ धुनिबेँसी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्रप्रसाद लुइँटेल रहेको प्रहरीले जनाएको छ ।
लुइँटेलले काठमाडौँ चन्द्रागिरि बस्ने व्यक्तिलाई म नेपाल प्रहरीको सिआइवीमा कार्यरत डिएसपी हुँ भन्दै ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बुधबार उनलाई पक्राउ गरी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ । उनका साथबाट रेडियो सेट एक थान, त्यसको चार्जर र नगद रु १० हजार बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो ।