Uncategorized

“आमा खोइ ?- मरिन्, बा खोइ ? – थाहा छैन” – नाम किस्मत भए पनि कलिलैमा ‘अभागी’…

यत्ति भनेर छ वर्षीय किस्मत परियार बगैँचातिर दौडे । फेरि नजिक आए । एकछिन लुटपुटिए । क्यामेरामा कैद आफ्नै तस्वीर हेरे, मुस्कुराए । किस्मत हँसिला, फुर्तिला छन् । चाल र हाउभाउ हेर्दा दुनियाँकै खुशी बच्चाझैँ लाग्छन् तर, किस्मत ‘अभागी’ छन् । कलिलैमा उनी दुःखको घेराभित्र छन् । किस्मतको घर छैन, न त ठेगान नै छैन । ‘आमा’ परलोक, ‘बा’ सडकपेटी । आमाको काख गुमेको तीन महीना भयो । ‘बा’ को साथ छोडेको तीन साता पुग्यो । किस्मत अहिले मानवसेवा आश्रमको शरणमा छन् ।

आश्रमको बागलुङ शाखा परिसरमा किस्मत यताउता दगुर्दै थिए । साथीसँग खेल्दै थिए । अकस्मात् बाबा रमेश आश्रममा आएको देखे । बा…भन्दै नजिक पुगे । काखमा बसे । ३३ वर्षीय रमेशले छोरा किस्मतको गालामा चुम्बन गरे ।

एकछिन छोरासँग बसेर रमेश आश्रमबाट बाहिरिए । हात हल्लाउँदै किस्मतले भोलि पनि आउनु है भने । आश्रम आउनुअघि उनी बाबासँगै सडकपेटीमा सुत्थे । न खाने न लाउनेको टुङ्गो । बाबा जता उतै पछि लाग्थे किस्मत ।

मजदूरी गरेर खाने रमेशको अस्वभाविक बानी, व्यवहार र अस्तव्यस्त दैनिकीले कलिला किस्मतलाई असर पुर्यायो । आमा बितेपछि उनी सहाराविहीनझैँ बनेका थिए । बाबासँगै बस्दा झन बर्बाद हुने देखेर उनलाई आश्रममा ल्याइयो । स्थानीयवासी र सामाजिक अभियन्ताको सहयोगमा उनी आश्रमसम्म आइपुगे । अहिले उनी विद्यालय जान्छन् । आश्रमको पारिवारिक वातावरणमा हुर्किरहेका छन् । आश्रममा खाना, आवासलगायतका आधारभूत सेवाको कुनै कमी छैन ।

आश्रमले सदरमुकामस्थित सिद्धार्थ शिक्षा सदनमा भर्ना गरिदिएको छ । “वर्षभरिको अग्रिम शुल्क तिरेर उनलाई भर्ना गरेका छौँ”, आश्रमकी संयोजक सुमिरा लामाले भन्नुभयो, “किस्मतले पहिलोपटक कलम समातेका छन् ।”

पढाइमा बानी पार्न शुरुका दिनमा कठिनाइ भइरहेको उहाँको भनाइ छ । किस्मतसँग अशिष्ट शब्द बोल्ने, अटेर गर्ने, केटाकेटीसँग झगडा गर्ने स्वभाव छ । कहिल्यै ज्ञान र शिक्षाको वातावरण नपाएका उनी त्यही रुपमा हुर्कदै आएका थिए ।

“दिसा पनि हामीले नै गराउनुपर्छ”, संयोजक लामाले भन्नुभयो, “पहिले बानी, व्यवहार सुधार्न कोसिस गरिरहेका छौँ ।” पढाइ र अनुशासनमा कडाइ हुने भएकाले उनलाई केही समय निजी विद्यालयमा भर्ना गरिएको छ । किस्मतजस्तै छ जना बालबालिका आश्रमबाटै विद्यालय जान्छन् । अन्य दुई बालबालिकालाई सिद्धार्थ शिक्षा सदन र तीन जनालाई गरिमा माविले निःशुल्क पढाउने जिम्मा लिएको छ । किस्मतलाई पनि निःशुल्क पढाउने सहयोगीको खोजी भइरहेको छ ।

“दिनभरि काममा जानुपर्छ, छोरालाई सँगै राख्न सक्दिन”, रमेशले भन्नुभयो, “छोराको भविष्य मेरोजस्तो नहोस् भनेर यहाँ ल्याएको हो ।” ठूलो भएपछि छोरालाई आश्रमबाट लैजाने सोच रमेशसँग छ । छोराले भारी बोकेर खान नपरोस् भन्ने उहाँको सदीक्षा छ । रमेश र उहाँका साथीहरु बागलुङ बजारमा श्रमिकको काम गर्छन् । ट्रक, ट्र्याक्टरबाट सामान ‘लोड–अनलोड’ गर्ने मुख्य काम हो । दिनभर काम गरेपछि साँझ मदिरा सेवन गर्ने र अव्यवस्थित तरिकाले सुत्ने गर्छन् ।

दिउँसै पनि मदिरा सेवन गरेको अवस्थामा उनीहरु भेटिन्छन् । रमेशले साथीहरु मीनबहादुर र प्रेम सार्कीसँग जीपपार्क पछाडिको झुप्रोमा सुत्ने गरेको बताउनुभयो । “काम राम्रो हात लाग्दा दिनकै दुई÷तीन हजारसम्म पनि हुन्छ”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ एक रुपैयाँ पनि हुँदैन ।”

रमेश र उहाँका साथीहरुको खानाको पनि कुनै टुङ्गो छैन । कतै पाइहाले खाना खाने नत्र मदिराको नशामा भोकै सुत्छन् । आश्रमका संयोजक लामाले उनीहरु दिनभर पनि मदिरा सेवन गरेर हिँड्ने गरेको बताउनुभयो ।

“जतिखेर पनि मदिराको नशामा हिँड्ने रात परेपछि यत्तिकै सडकपेटीमा सुत्ने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “छोरा आश्रममा आएपछि बेलाबेला भेट्न आउनुहुन्छ ।” केही वर्षअघि रमेशजस्तै मदिराको दुव्र्यसनमा फेसका युवालाई ‘सेफ द् युथ’ नामक संस्थाले पुनःस्थापना गृहमा पठाएको थियो ।

बागलुङ नगरपालिका–८ सिगानाका रमेशले दश वर्षअघि पर्वत नाङ्लीवाङबाट लक्ष्मीलाई बिहे गर्नुभएको थियो । लक्ष्मीले किस्मतलाई तनहुँको दमौलीमा जन्म दिनुभएको थियो । जतिबेला रमेश दमौलीमा रिक्सा चलाउनुहुन्थ्यो ।

“दश वर्ष दिल्लीमा सिलाइको काम गरेँ”, रमेशले भन्नुभयो, “नेपाल आएपछि मजदूरी शुरु गरेको हुँ ।” रमेशकी श्रीमती लक्ष्मी पनि लामो समयसम्म मदिराको लतमा पर्नुभएको थियो । कमलपित्त रोगले गालेपछि उपचारकै क्रममा गत चैत १६ गते धौलागिरि अञ्चल अस्पतालमा उहाँको मृत्यु भएको थियो ।

“पहिलेदेखि नै रक्सी खाने बानी रहेछ”, रमेशले भन्नुभयो, “त्यसैले उसलाई लग्यो ।” उहाँले आफू मदिराको लतमा फसेको कुरा भने संवेदनशील रुपमा लिनु भएन । “दिनभर भारी बोक्यो, बेलुका खायो, नखाए निद्रै लाग्दैन”, उहाँले भन्नुभयो ।

सडकमा साह्रै दर्दनाक अवस्था देखेर किस्मतलाई आश्रममा ल्याइएको संयोजक लामाको भनाइ छ । “कहिले चिसै सिँढीमा बाबासँग नाङ्गै सुतेको अवस्थामा भेटिन्थे”, उहाँले भन्नुभयो, “शरीरमा राम्रो लुगा थिएन, खुट्टामा चप्पल हुन्थेन ।”

रमेशका दाजु ९ वर्षीय दीपक पनि अहिले पोखराको बालगृहमा छन् । चार वर्षअघि उनीसँगै बागलुङका पाँच सडक बालबालिकालाई उद्धार गरिएको थियो । आश्रममा किस्मतजस्तै २५ जना असहायले आश्रय पाइरहेका छन् । कोही मानसिक सन्तुलन गुमाएका छन्, कोही परिवार र आफन्त गुमाएका ।

मनोरोग, अपाङ्गता, गरीबीजस्ता कारणले साहराविहीन बनेका व्यक्ति आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम खोलिएको अभियन्ता मनिष रायमाझीले बताउनुभयो ।

रायमाझीलगायतका युवा मिलेर तीन वर्षअघि बागलुङमा आश्रमको शाखा खोलेका थिए । आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि उपलब्ध गराइएको छ । आश्रम सञ्चालनका लागि देश विदेशमा रहेका नेपालीले आर्थिक सहायता प्रदान गरेका छन् ।

यस्तै सरकारी, गैरसरकारी सङ्घसंस्था, निकायले पनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । गोविन्द टण्डन संस्थापक संरक्षक रहनुभएको आश्रमको मुख्य कार्यालय मकवानपुरको हेटौँडामा छ । विभिन्न जिल्लामा आश्रमका शाखा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker