आज जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धन (महत्व र बिषेशता)
काठमाडौं । आज रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व, हातमा डोरो बाँधेर र तागाधारीले नयाँ जनै लगाएर मनाइँदैछ । मुलुकभरका विभिन्न शिव मन्दिर र तलाउका छेउमा तागाधारीले जनै लाएर जनै पूर्णिमा मनाउदै छन् , भने दिदीबहिनीले दाजुभाईलाई राखी बाधेर रक्षा बन्धन समेत आज मनाईदै छ ।
आजको दिन तागाधारीले आफ्नो जनै फेर्ने परम्परा अनुसार विभिन्न स्थानमा जनै लाउने र रक्षाबन्धन बाध्नेको भिड लागेको छ ।आज पशुपतिनाथ मन्दिरमा जनै लाइदिने र लगाउनेको ठुलो भिड लागेको छ ।
जनैपुर्णिमाको महत्व
हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावण पूर्णीमाका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ । वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् । त्यस पछिजौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यस पछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धति सहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी, यज्ञोपवीताभिमन्त्रण गर्दछन् ।
उपाकर्मणिचोत्सर्गे गतेमासचतुष्टये।
नवयज्ञोपवीतानि धृत्वाजीर्णानि संत्यजेत्॥
अर्थात् उपाकर्म,उत्सर्ग र लगाएको चार महिना भएपछि वैदिक विधिपूर्वक मन्त्रिएको नयाँजनै (यज्ञोपवीत)फेर्ने चलन छ । यसदिन मन्त्रेको यज्ञोपवीत (जनै) वर्षदिनभर लगाउन भण्डारण गर्ने चलन छ ।
रक्षाबन्धनको महत्व
‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल।
तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल।।‘
आजको दिनलाइ रक्षाबन्धन पनि भन्ने गरिनछ । आज महिलाहरुको बायाँ नाडीमा र पुरुषहरुको दायाँ नाडीमा धागो बाँध्ने गरिन्छ । यस दिन बाँधिएको
धागोलाई तिहारमा लक्ष्मीपूजाको दिन फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ । आज लगाएको डोरो, गाइको पुच्छरमा बाँधे,
मरेपछि त्यही डोरो समातेर बैतरणी नाघिने कथन छ । तराइमा भने दिदी बहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु र सुरक्षाको कामना गर्दै राखी बाध्ने गर्छन् । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने धार्मिक विश्वास छ ।
जनैपूर्णिमामा मेलालाग्ने प्रमूख तिर्थस्थलहरु
जनैपूर्णिमामा काठमाडौँको पशुपतिनाथ मन्दिर लगायत विभिन्न स्थानमा मेला लाग्ने गर्दछ । पशुपति बाहेक मणिचूड, रसुवाको गोसाइँकुण्ड,
ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधाम लगायत ताल, पोखरी र कुण्डमा समेत मेला लाग्छ ।
क्वाटी खाने चलन
आज टुसा उमारेको गेडागुडीलाई क्वाँटी बनाएर खाने परम्परा छ । ठूलो केराउ, सानो केराउ, भटमास, गेडा सिमि, बोडी, गेडा मास, गेडा मुङ,
चना, मस्याङ लगायतका ९ थरिका गेडागुडि मिसाएको क्वाँटी खानाले साउन महिनामा मनसुनी झरीले स्वास्थ खराब भई चिसो लाग्ने, ज्वरो आउनेजस्ता रोग लाग्ने हुँदा क्वाँटी खाँदा यसले शरीरमा शक्ति बढाई रोगहरूसँग लड्ने क्षमता बढाउछ भन्ने जनविश्वास रहेकोछ ।
क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाभरि खेतीपातीको काम गर्दा शरिरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता समेत रहेको छ ।
आजको दिन नेवारी समुदायले गुन्हु पुन्ही भनी मनाउने गर्छन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको भन्ने तर्क एकथरि संस्कृतिविद्को छ । यसको चार दिन अगाडि चाँगुनारायण देउतालाई हनुमानढोकामा लगिन्छ । जनै पूणिर्माको लागि क्वाँटी भिजाए भयो भन्ने सन्देश दिन यसो गरिएको भन्ने जनविश्वास छ । यसैगरी उनीहरुले भ्यागुतोलाई भात ख्वाउने अर्थात् ब्यांजा नकेगु भनेर सिमिको पातमा भात, क्वाँटी, मासु, मूला, भ्यागुते फूल आदि राखेर चढाउने चलन पनि रहेको छ ।
कृषकहरूले आ¬आफ्नो खेतमा र अरूहरूले आफ्नो घरको दैलामा राख्ने चलन छ । विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने चलन रहेको हो ।
बौद्ध धर्माबलम्बीले भने आजको दिनलाई भगवान गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्छन् । बौद्ध धर्मग्रन्थ ‘ललित विस्तार’मा यससम्बन्धी विस्तृत रुपमा व्याख्या गरिएको छ । आज स्वयम्भूमा पनि विशेष मेला लाग्छ ।