Uncategorized

भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच झडप , चितवनमा निषेधाज्ञा

चितवन- भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच झडप भएको छ । जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस चलिरहेको बेला उनका समर्थकहरुले सार्वजनिक सवारी साधनमा तोडफोड गरेपछि झडप भएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रु ग्यास प्रहार भएको पुष्टि गरे । उनले भने, ‘निषेधित क्षेत्रमा बाहिरै रोकेर राखिएका ट्रक र मोटरसाइकलमा क्षति पुर्याएपछि प्रतिवाद गर्दा झडप भएको हो ।’

बस्नेतका अनुसार, लामिछाने समर्थकले बाहिर मोटरसाइकल र्‍याली निकालिरहेका थिए । त्यही क्रममा तोडफोड भएको हो ।

‘हामीले अहिले केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं । स्थिति सामान्य भएको छ’, उनले भने ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ परेदेखि नै उनका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी चितवन प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ ।

विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन पाइने छैन भनिएको छ । निषेधाज्ञा लागू हुने चार किल्ला समेत तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker