Uncategorized

आत्महत्या र त्यसको रोकथाम

सन्दर्भ विश्व आत्महत्या रोकथाम दिवस

 लेखक : सुदिप घिमिरे
लेखक : सुदिप घिमिरे
हरेकबर्ष सेप्टेम्बर १० अर्थात भाद्र २४ गतेलाई विश्व आत्महत्या रोकथाम दिवसका रुपमा मनाइन्छ । यस बर्ष पनि मानसिक तथा मनोसामाजिक क्षेत्रमा कार्य गर्ने व्यक्ति,संघसंस्था एवंम सरकारी निकायले बिभिन्न कार्यक्रमहरु मनाइरहेका छन् । आत्महत्या व्यक्ति र परिवारको मात्र नभई सामाजिक समस्या भएकाले यस बर्षवाट आत्महत्या रोक्नका लागि मिलेर लागौं भन्ने सन्देश लिइएको छ । यसै परिवेशलाई केन्द्रीत गदै,यस आलेखमा आत्महत्यासंग केहीतथ्यहरु । आत्महत्याको बिषयलाई किनचासो दिनु पर्छ । आत्महत्या संग सम्बन्धीत गलतधारणाहरु के के छन् । व्यक्ति आफै, परिवार र समाजले यस्ता समस्याको निराकरण गर्न कस्तो भुमिका निवार्ह गर्न सक्छन् भन्नेमा केन्द्रीत रहनेछ ।

केही तथ्यहरु :

बिश्वभर हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने बिश्व स्वास्थ्य संगठनको आँकडा छ । हरेकबर्ष ८ लाखभन्दा धेरैले आत्महत्या गर्ने गर्दछन् ।आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ । १५ देखि २९ बर्षको उमेरलाई बढी जोखिमको रुपमा लिइन्छ । यसै उमेर समुहमा आत्महत्या मृत्यूको दोश्रो कारक तत्व बनेको छ । यही तथ्यांक बढ्दै गयो भने सन् २०२० पछि हरेक बर्ष आत्महत्या गरी मर्नेहरुको संख्या १० लाखभन्दा बढी हुनेछ ।हरेकबर्ष एक करोड भन्दा धेरै व्यक्तिहरुले आत्महत्याको लागि प्रयास गर्ने छन् । आफन्तले गरेका आत्महत्याका कारण लाखांै बालबालिका, महिला, वयष्क, बृद्धाहरु प्रत्यक्ष प्रभावित हुन्छन् ।
नेपालमा भने आत्महत्या गर्ने र प्रयास गर्नेहरुको सही तथ्यांक छैन् ।प्रहरीको तथ्याकंलाई आधार मान्दा आत्महत्या दर बढेको देखिन्छ ।दैनिक १६ जना नेपालीले आत्महत्या गर्ने पछिल्लो तथ्यांकले जनाएको छ । १२बर्ष अगाडी कास्की जिल्लामा गरिएको एक अध्ययनले १ लाख जनसख्यामा १२.४ प्रतिशतले आत्महत्या गर्ने जनाएको थियो । २ सय ८७ वटा पोस्टमार्टम केसहरुलाई आधारमानीउक्तअध्ययान गरिएको थियो । त्यसै गरी १९९६ देखि २००६ सम्म नेपालमा भएको माओवादी विद्रोहले व्यक्तिको मनोबैज्ञानिक पक्षका नराम्रो संग प्रभाव पारेको तथ्यहरु समेत सार्वजनिक भएका छन् । सरकारी पक्ष र विद्रोही पक्षको यातना, हिंसा, हत्याले धेरै व्यक्तिलाई मानसिक स्वास्थ्यमा नराम्रो संग प्रभाव पारेको देखिएको छ । त्यसै गरी २०१५ मा आएको बिनाशकारी भुकम्पले धेरै व्यक्तिको मनमा उथलपुथल वनाएको थियो । एक गैरसकारी संस्थाले गोर्खा, सिन्धुपाल्चोक,र काठमाण्डौमा गरेको अनुसन्धानमा १०.९प्रतिशत व्य
क्तिहरुमा आत्महत्याको विचारहरु आएको पाइएको थियो ।उक्त अध्ययन ५ सय १३जना भुकम्प प्रभावित व्यक्तिहरु संग गरिएको थियो । यस्ता स–साना अनुसन्धानले प्रमाणीत गर्छ,नेपालका हरेक जिल्लाहरुमा आत्महत्या वा मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरु धेरै छन् ।

आत्महत्या रोकथामलाई किन महत्व दिनु पर्छ ?

१)मनोसामाजिक र मानसिक स्वास्थ्य नेपालको प्रमुख समस्या बन्दै आएको छ । हाम्रा स्वास्थ्य संस्थाहरुमा आउने ४० प्रतिशत विरामीहरुमा कुनै न कुनै प्रकारको मानसिक समस्याका लक्षणहरु लिएर आउने तथ्यांकहरुले जनाएको छ । उनीहरुले आफ्ना समस्याहरु देखाउदा शारीरिक समस्यालाई बढी देखाउँछन् । किनभने हाम्रा स्वाथ्य संस्थाहरुले शारीरिक समस्याको उपचारलाई बढी प्राथमिकता दिने गर्दछन् । शारीरिक समस्याको पछाडी मनोसामाजिक, मनोबैज्ञानिक वा मानसिक समस्याहरु जोडिएर आएका हुन सक्छ ।
२) आत्महत्या सामाजिक समस्या हो । एक व्यक्तिले आत्महत्या गर्दा त्यसको प्रत्यक्ष असर उसको परिवार, समुदाय र देशलाइ नै पर्छ । यस्तो समस्या जो कोहीलाई, जुन सुकै वेला हुनसक्छ ।
३)हाम्रा सामाजिक संरचना र संस्कारहरु छिटो छिटो परिर्वतन हुन थालेका छन् । आधुनिकताले युवाहरुलाई प्रभावित गरेको छ । व्यक्तिमा सामाजिक, आर्थिक समस्याहरु प्रशस्त छन् । रोजगारका लागि हजारौ व्यक्तिहरु बसाइसराई गर्छन् । हजारौ युवाहरु आफ्नो परिवार छाडेर कामका लागि विदेशीएका छन् । सिमित श्रोतले असिमित आवश्यकताहरु पुरा गर्न व्यक्ति र परिवारलाई कठिन भएको छ । त्यस वाहेक परिवारका सदस्यहरु संग बसेर मनका कुरा सुन्ने र सुनाउने अबसरहरु गुम्न थालेका छन् ।व्यक्तिमा समस्यालाई जुध्ने सकारात्मक सामना गर्ने व्यवहार विस्तारै नकारात्मक बन्दै गएको छ । समस्या हुने वित्तिकै छिटो आत्तिने, डराउने प्रवृती बढेका कारण युवाहरुको मनस्थिती नराम्रोगरी प्रभावित भएका छन् ।
४) तनाव, चिन्ता, उदासिनता, आत्महत्याका समस्याको बैज्ञानिक उपचार हुन्छ भन्ने जानकारी धेरै व्यक्तिलाई छैन् । धेरै यस्ता समस्यालाई समस्याको रुपमा लिइदैन । कसैले पुर्वजन्मको पापको रुपमा लिने गर्छन् । कोही व्यक्ति यस्ता समस्याका लागि धामीझाक्री एवं परम्परागत उपचार कर्मीहरुको सहायता लिने गर्दछन् । समुदायका व्यक्तिले चिन्ता, उदासिनता जस्ता समस्याहरु व्यक्त गर्दा नकरात्मक रुपमा लिन्छन् भन्ने डर छ ।समस्या भन्दा इज्जत जान्छ भन्ने डर छ । समस्यालाई लुकाएर राखिन्छ ।
५)आत्महत्या लगायतका मानसिक समस्याको उपचारका लागि देश भित्र आवश्यक जनशक्तिको कमि छ । भएका मनोविमर्शकर्ताहरु र मनोबिद्धहरु गैरसरकारी संस्थाका परियोजनाहरुमा सिमित छन् । केही मानसिक चिकित्सक र मनो चिकित्सकभने शहरका अस्पतालहरुमा केन्द्रीत छन् ।जिल्ला–जिल्लामा भएका समस्यालाई सम्बोधन गर्न तालिम प्राप्त जनशक्तिको अभाव छ । त्यसैले मनसंग सम्बन्धीत स–साना समस्या पनि व्यवस्थापन भएका छैनन् । बिद्यालयका बिषयहरुमा तनाव कसरी व्यस्थापन गर्ने, रिसलाई कसरी नियन्त्रण गर्ने, आफ्नो हेरचााह कसरी गर्ने भन्ने ज्ञान पनि दिइदैन् । त्यसैले यस्ता बिषयलाई गैरसरकारी संस्था र सरकारी निकायले गम्भीर रुपमा लिई कार्यक्रमहरु संचालन गर्नु पर्छ ।

आत्महत्यासंग सम्बन्धीत गलत धारणाहरु

१)आत्महत्या गर्ने खोज्ने व्यक्ति निश्यचनै मर्न चाहन्छ भन्ने धारणा राख्नु गतल हो । सवै आत्महत्या भएका व्यक्तिहरुले मर्ने योजना वनाएका हुदैनन् ।समस्याको निराकरण नभएका कारण विकल्पको रुपमा आत्महत्यालाई रोजेका हुन्छन् । कठिनाईको अवस्थामा व्यक्तिले समस्याको सकारात्मक पाटो सोचको हुदैन् । आफुलाई बेकार ठान्छ । उसलाई बाँचेको अर्थहिन लाग्छ ।त्यसैले आत्महत्याको सोचाई आउनु भनेको सहयोगको याचना गरेका होे सम्झनु पर्छ । धेरै पीडाको अवस्थामा जो कोही व्यक्तिलाई पनि यस्ता सोचाईहरु आउन सक्छन् । उनीहरुको कुराहरु ध्यान दिएर सुन्ने । जीवनलाई सकारात्मक दृष्टीले हेर्न प्रेरणा दिनुका साथै तिम्रा, समस्यालाई व्यवस्थापन गर्न हामी पनि छौ है भन्ने सन्देश दिनु महत्वपुर्ण हुन्छ ।
२) आत्म हत्याको विचारको वारेमा कुरा गर्दा व्यक्तिलाई आत्महत्या गर्न थप प्रेरणा मिल्छ भन्ने सोचाई गलत हो । समस्याको अवस्थामा व्यक्तिले उसको चिन्ता वा तनावलाई सवैले ध्यान दिउन भन्ने सोचाई राख्छ । त्यसैले आत्महत्याको वारे खुलेर कुरा गर्दा व्यक्ति मन हल्का हुन्छ । मेरो समस्या बुझ्ने कोही व्यक्ति छन् भन्ने भान हुन्छ ।पीडाको स्तर कम हुन सहयोग गर्छ । आत्महत्या गर्ने योजना वनाएका व्यक्तिहरुको मन छिटो छिटो परिर्वतन हुन्छ ।एक्लोपनको महसुस गर्ने, म मरेकै राम्रो, मलाई कुनैकुराहरुमा रुची छैन् भन्ने भनाईहरु व्यक्त गरेका हुन्छन् । आफ्नो हेरचाह पनि नगर्ने । व्यवहार पनि धेरै जसो रुन्चे हुने । दैनिक क्रियाकलापमा भाग नलिने जस्ता समस्याहरु देखिन्छन् । यस्ता संकेतहरु थाहा भयो भने उनीहरुका मनका भावनाहरु भन्ने वाताबरण वनाउनु पर्छ ।
आत्महत्याको सोचाईहरुलाई कसरी सहयोग गर्ने ?
आत्महत्याको विचार व्यक्त गर्नु र उसमा आत्महत्या सम्बन्धी कुराहरु वारम्वार व्यक्तिले गर्छ भने केही समस्या छ भन्ने बुझ्नु पर्छ । समस्या समाधानको लागि सहयोग सम्झनु पर्छ ।त्यसका लागि व्यक्तिआफै, परिवारका सदस्य र समुदायको महत्वपुर्ण भुमिका रहन्छ ।

व्यक्ति आफैको भुमिका :

– नकारात्मक सोचाई नराख्ने ।
– एक्लै नबस्ने ।
– आफ्नो मन र शरीरलाई माया गर्ने । आफुलाई नोक्सान नपु¥याउने ।
– समस्या व्यवस्थापनका लागि सहयोगी निकायको खोजी गर्ने ।
– आत्महत्याले पर्न सक्ने नकारात्मक असरको मुल्यांकन गर्ने ।
– अरुको सहयोग माग्ने र लिने ।

परिवारले गर्न सक्ने सहयोग :

– समस्यामा रहेका व्यक्तिको गुनासा र समस्याहरु ध्यान दिएर सुन्ने ।
– भावनाहरु पोख्ने वातावरणको सृजना गर्ने ।
– परिवारको कुन सदस्यसंग कुराकानी गर्न सहज मान्छ त्यो पत्ता लगाउनु पर्छ । उसैसंग समस्याहरु भन्ने वाताबरण वनाइदिनु पर्छ । जीवनका सकारात्मक पक्षलाई जोडदिने ।
– मर्ने वाहेक अन्य विकल्पको खोजी गर्ने ।
– व्यक्तिलाई एक्लै छोड्नु हुदैन् ।
– राती सुतेको वेलामा ध्यानदिएर सुत्ने ।
– मर्नको लागि सामाग्रीनै लुकाएर राखेको छ । हटाउने ।सुरक्षित रहन वाचा गर्ने ।
– जोखिम छ भन्ने लागेमा आफन्त, छिमेकीलाई खवर गर्ने ।
– तुरुन्त स्वास्थ्य संस्था लाने ।

समुदायले गर्न सक्ने सहयोग : 

– परिवारका सदस्यहरु आत्तिएका हुन्छन् त्यस्तो अवस्थामा समुदायका व्यक्तिहरुको प्रेरणा र प्रोत्साहन चाहिन्छ ।
– सकारात्मक व्यवहार गर्ने ।
– समस्या समाधानका लागि बिकल्प खोजी दिने ।
– जीवन प्रति आशा जाग्ने खालका कुराहरु गर्नुपर्छ ।
– सामाजिक तिरस्कार नगर्ने ।
– उपचारका लागि स्वास्थ्य संस्था लैजान सहयोग गर्ने आदि ।
यस्ता उपायहरु लागु गर्दा पनि समस्या बढ्न थाल्यो भने तुरुन्त मनोविमर्शकर्ता, मनोबिद्ध, मनोचिकित्सकको सहयोग लिने। मनोविमर्श सेवाले व्यक्तिका मनसंग सम्बन्धीत भावनात्मक समस्यालाई व्यवस्थापन गर्न सहयोग मिल्नेछ । समस्या व्यवस्थापनका लागि मर्ने वाहेक अन्य विकल्प देख्नेछन् ।समस्यालाई सकारात्मक रुपले लड्न प्रेरणा मिल्छ भने । समस्या धेरैनै गम्भीर छ भने औषधी सहित मनोबैज्ञानिक सहयोगको आवश्यता पर्छ ।
[email protected]
लेखक : उत्थान नेपालका कार्यकारी निर्देशक हुन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker