आइडिया

निन्द्रा सम्बन्धी समस्याहरूसँग छुटकारा पाउने  उपायहरू

हामी मध्ये धेरै जनालाई कहिलेकाहीँ निन्द्रा सम्बन्धी समस्याले सताएको हुन सक्छ । हामीलाई राती सुत्दा निन्द्रा नपर्ने, नानाथरीका कुरा मनमा खेल्ने, निदाएको बेला झसङ्ग भएर बिउँझिने र धेरै निन्द्रा लाग्ने जस्ता समस्याहरू आइपर्न सक्छन् । कहिलेकाहीँ यसो हुनुलाई भने स्वाभाविक रूपमा लिन सकिन्छ । तर सधै यस्तो भयो  भने  शारिरिक तथा मानसिक रुपमा नै असर पर्न जान्छ  तसर्थ बेलैमा सजक हुनु नै राम्रो हुन्छ । आज हामी तपाईलाई निन्द्रा सम्वन्धि समस्याका कारण र यसको समाधानको बारेमा  केहि आईडिया दिन्छौ । यसबाट पनि तपाईलाई केहि फाईदा भने पक्कै पनि हुन्छ ।

कारणहरू

  • मनमा पीर चिन्ता पर्नु, केही कुराको डरले सताउनु, कार्यालयमा तनाव वा धेरै कामको बोझ हुनु, अपर्याप्त निन्द्रा र थकानको कमी आदि कारणहरूले राम्रोसँग निन्द्रा नपर्ने हुन्छ ।
  • कहिलेकाहीँ निन्द्रा नपर्नुमा भुइँचालो, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप तथा मानव सिर्जित दुर्घटना, विनाश वा नजिकका व्यक्तिको मृत्यु पनि हुन सक्छ ।

समाधानका उपायहरु

  • सर्वप्रथम त हामीले मानसिक रूपमा स्वस्थ र स्फूर्ति अनुभव गर्नको लागि एक दिनमा कम्तीमा पनि ७-८ घण्टा सुत्ने गर्नु राम्रो मानिन्छ । त्यस्तै, धेरै मात्रामा सुत्नु पनि शरीर र मनको लागि स्वस्थ्यकर मानिँदैन । धेरै सुत्ने बानी छ भने एउटा कार्यतालिका बनाई दिनभरि आफूलाई कुनै न कुनै रूपमा व्यस्त राख्नु लाभदायक हुन सक्छ ।
  • पर्याप्त मात्रा सुत्नुका साथै राम्रो गुणस्तरको निन्द्रा हुनु पनि उत्तिकै आवश्यक हुन्छ । त्यसको लागि सुत्ने स्थानको चयन गर्दा सकेसम्म हल्ला नहुने स्थान चयन गर्नु, सफा र स्वच्छ ओछ्यानमा सुत्नुका साथै सुत्ने स्थानको पनि धेरै फेरबदल नगर्ने गरेमा राम्रो निन्द्रा पर्न सक्छ । त्यस्तै, सुत्ने कोठामा उचित मात्रामा अन्धकार वा मधुरो प्रकाशको व्यवस्था गर्न सकेमा राम्रो निन्द्रा पर्न सक्छ ।
  • शरीरमा बढी मात्रामा अपच हुने खानेकुरा, धेरै तेल र बोसोयुक्त खानेकुरा, चिया, कफि लगायत चुरोट, खैनी, र मादक पदार्थको सेवनले गर्दा पनि निन्द्रामा समस्या हुन सक्छ । त्यसैले सुत्न जानु एकदुई घण्टाअघि पचाउन गाह्रो हुने कुरा सकभर नखानु नै वेश हुन्छ । त्यस्तै, मादक पदार्थको सेवनबाट बच्नु र धेरै मात्रामा चिया कफि नपिउनु नै निन्द्राको लागि राम्रो मानिन्छ ।
  • प्राकृतिक वा मानव निर्मित प्रकोप, विनाश आदिका कारण मानिसमा आत्तिने, रुने, कराउने, एकोहोरो हुने र बारम्बार घटनाको झझल्को आइरहने जस्ता लक्षणहरू देखा पर्न सक्छन् जुन् असामान्य अवस्थामा मानिसले देखाउने स्वाभाविक प्रतिक्रियाहरू हुन् ।
  • समयको प्रवाहसँगै त्यस्ता घटनाहरूको प्रभाव पनि मत्थर भएर जान्छ । हाम्रो छरछिमेक र समाजमा अरु व्यक्तिहरूले पनि यस्ता प्रतिक्रियाहरू देखाउँदा उनीहरूलाई हामीले उक्त कुरा बुझाउनु आवश्यक हुन सक्छ ।
  • यस्तो बेला, परिवारका सदस्य, साथीभाइ र छरछिमेकका मानिसहरूले एकअर्काको साथ नछाड्ने र एक अर्कामा ढाडस दिने र सहयोग गर्ने गरेमा समस्यासँग सामना गर्न आत्मबल मिल्छ ।
  • यस्तो बेला, आफ्नो मनस्थिति स्थिर नहुन्जेलसम्म सकेसम्म टी.भी. र अन्य मिडियाहरूबाट देखाइने मृत्यु, दुर्घटना र विनाशसँग सम्बन्धित समाचारहरुबाट टाढा बस्नु राम्रो हुन सक्छ ।
  • हिंसा र आघातजन्य घटना सम्बन्धी समाचार र दृश्यहरू बालबालिकाहरूको पहुँचबाट टाढा राख्नु राम्रो हुन्छ ।
  • यस्तो समयमा छरछिमेक र अन्यत्र फैलिने अनावश्यक हल्लाहरूको पछि नलाग्नु नै वेश हुन्छ ।
  • राम्रो निन्द्राको लागि योग, ध्यानका साथसाथै यसै वेभसाइटमा रहेका गहिरो श्वास प्रश्वास विधि, ध्यान केन्द्रित गर्ने अभ्यास र अन्य आरामदायी अभ्यासहरू लाभदायी हुन सक्छन् ।
  • कहिलेकाहीँ धेरै उपायहरू अपनाउँदा पनि राम्रोसँग निन्द्रा नपर्न सक्छ, मनमा धेरै कुराहरू खेल्न सक्छ वा कहिलेकाहीँ मध्य रातमा अचानक निन्द्राबाट बिउँझेर फेरि निदाउन गाह्रो हुन सक्छ । त्यस्तो बेला उल्टोबाट १०० देखि १ सम्म गन्ने उपाय अपनाउन सकिन्छ ।
  • म जसरी पनि निदाउनै पर्छ भन्ने भावना त्याग्नु नै राम्रो हुन सक्छ । कहिलेकाहीं एक दुई दिन ननिदाउंदैमा पनि त्यति सारो केही बिती हाल्दैन ।
  • यस्ता विभिन्न उपायहरू अपनाउँदा पनि आफूमा कुनै सुधार आउँदैन र दैनिक जीवन यापन गर्न झन्झन् गाह्रो हुँदै जान्छ

माथि उल्लेख गरिएका उपाएहरु अपनाउँदा  पनि नभए मनोसामाजिक स्याहारकर्ता, मनोविमर्शकर्ता, मनोविज्ञ वा मनोचिकित्सक जस्ता विशेषज्ञहरूको सहयोग लिनु आवश्यक हुन सक्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker