गृह मन्त्रीका भाईलाई हिरासतमा लिए पछि गोलढुंगामा गोली हानि साजन गुरुङ प्रहरि नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ । गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो ।
विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको हो।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् । उनलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ।
नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली हानी समातिएको उनले बताए । उनका अनुसार गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली पनि बरामद भएको छ ।
जेलभित्रैबाट पनि उनले फिरौती असूलीको धन्दा चलाइरहेको प्रहरी अधिकृतले बताउने गरेका छन् । उनलाई बाहिर रहेका समूहका सदस्यले सहयोग गर्ने गरेको प्रहरी दाबी छ ।
समिरमान सिंह बस्न्यात लाई नै सहयोग गरेको आरोपमा प्रहरीले गृहमन्त्री रामबहादुर थापा बादलका भाइ नरेशलाई पनि पक्राउ गरेको थियो । समिरमानको निर्देशनमा फिरौती असुलीमा संलग्न भएको हुनसक्ने आशंकामा पवन खड्का र सुरेन नगरकोटीलाई साउन अन्तिम साता पक्राउ गरेसँगै नरेशको संलग्नता खुलेको थियो ।
को हुन् गुरुङ ?
गुरुङ धादिङका वासिन्दा हुन् । उनले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।
उनले प्रहरी अधिकृतलाई पनि धम्क्याउने गरेका थिए । स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई हत्या गर्छु भनेर गुरूङले भनेको अडियो प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेको थियो ।
गुरुङ गुन्डा नाइके समिरमान सिंह बस्न्यातको पनि सहयोगी हुन् । बस्न्यातको योजनामा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज ०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या भएको थियो । हाल उनी केन्द्रीय कारागार सुन्धारामा छन् ।