साहित्य

कविता : स्मृतिका धुमिल पानाहरु

नारायण सापकोटा

आमाले रातोमाटाले दैलो पोतेपछि
घामको पहिलो झुल्को पोखिन्थ्यो मझेरीमा
बाले गोठ र करेसाबारीमा सपना रोप्थे

मुस्कुराउथे
सयपत्री र मखमलीहरु
उफ्रिन्थे
बाछाबाछी र पाठापाठीहरु
लटरम्म फल्थे
नास्पाती र आरुबखडाहरु
टारीमा लहलह झुल्थे
धानका बालाहरु ।

बाटोभरी रमाउँदै
पुस्तक च्यापेर विद्यालय जान्थे नानीहरु
दलीनमा गुँड बनाउन
गिलो माटो बोकिरहन्थे गौथलीहरु
धुरीमा घुर्थे परेवाहरु
बगौँचाबाट
शीतल हावा चलिरहन्थ्यो गाउँभरी ।

बा डोकोनाम्लो बोकेर उकालो लाग्थे
डाँडामाथी एकजुवा घाम बाँकी रहँदा
चौतारीमा भारी बिसाएर सुस्केरा हाल्थे
दौराको फेरले पसिना पुछ्थे
कलकल बग्ने खोलाको चिसो पानी
अञ्जुलीेभरी उठाएर प्यास मेटाउथे
पोल्टाभरि टिपेर ल्याएका हुन्थे
काफल र ऐँसेलुहरु
नानीहरु र आमाको मुहारमा
लालीगुराँस फुल्थ्यो ।

जवान छोराको पसिना
मरुभूमिको देशमा बगेसँगै
उजाडियो फुलमायाको सिउँदो
ढलेर गयो नास्पातीको रुख
ओइल्याएर झर्न थाले फूलहरु
शून्य भए बस्तीहरु

मिथक बन्दै छ सुन्दर सभ्यता

निरन्तर घुमिरहने घडीका सुइहरुलाई
रोक्न सकेनन् बाले
त्यसैले,
जीवनको शिखरबाट क्षितिज हेर्दै
पल्टाइरहेका छन्
स्मृतिका धुमिल पानाहरु ।

ओखलढुंगा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close