महरा प्रकरण नयाँ मोडमा : प्रहरीले फरेन्सिक जाँच गर्ने

काठमाडौ।
‘रोशनीले नबताएको कथा’ शीर्षकमा आजको कान्तिपुर दैनिकले मुख्य समाचार छापेको छ । रोशनी कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने र पछि बयान फेर्ने महिला कर्मचारी हुन् । उनको आरोपपछि महराले पदबाट राजीनामा दिएका छन् ।
कान्तिपुर लेख्छ, ‘प्रहरीमा उजुरी गर्न जाउँला भनेर कुरेकी उनलाई श्रीमानले पत्याइदिएनन् । बरु तनहुँबाट फर्किएर सरासर महरालाई भेट्न गए, सरसल्लाह गरे, कुरा मिलाए । घर फर्किएर ‘श्रीमतीलाई कुरा किन बाहिर ल्याइस् ?’ भनेर झपारे ।’
कान्तिपुरले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुर्व्यवहार आरोपका विषयमा प्रहरीले फरेन्सिक जाँच गर्ने समाचार भित्री पृष्ठमा छापेको छ । शाहीको कोठाबाट बरामद सामान, उनले डिप्रेसन पीडित भएको व्यहोरासहित प्रहरीमा दिएको निवेदन र सभामुख पदबाट महराले दिएको राजीनामा एकै ठाउँमा राखेर अनुसन्धान गर्न लागिएको समाचारमा उल्लेख छ ।
नागरिकले महरा प्रकरण नयाँ मोडमा पुगेको लेखेको छ । पीडित भनिएकी रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध विच्छेद भएकाले यो प्रकरण नयाँ मोडमा पुगेको समाचारको सार छ ।
त्यस्तै आजको राजधानी दैनिकले महराले सरकारबाट लिँदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरे पनि निवास अझै नछाडेको भन्दै समाचार लेखेको छ ।