आज बडा दशैंको आठौं दिन महाअष्टमी : पौराणीक महत्व

काठमाडौं ।
आज नवरात्रीको आठौं दिन अर्थात महाहष्टमी , यस दिन महाकाली -(भद्रकाली)को विशेष पूजाआजा गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन पूजा कोठा, दशैं घर र मण्डपमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महाअष्टमीको दिन भक्तिपूर्वक पुजाआजा गरिन्छ।
देशभरिका दशैं घरमा आज केराको पातमा चामलको नौ थुप्रा लगाएर त्यसमा जनै, सुपारी, नैवेद्य तथा भेटी राखी नवदुर्गाको पूजाआजा गरिन्छ। महा नवमी लाग्ने महा अष्टमीको मध्यरातमा बलि सहित असुर संहारकर्ता कालदुर्गे कालरात्रिको पूजा गरिन्छ। आजै आफूले प्रयोग गर्ने खुकुरी, तरबार, खड्गहरु जस्ता फलामका घरेलु औजार, कलपुर्जा र सवारी साधनलाई पनि दशैं घरमा राखेर विशेष पुजाआजा गर्ने गरिन्छ।
नेपाली सेना र प्रहरीका हातहतियार तथा कोतखानामा रहेका अन्य हतियारहरुको पनि पूजा गरिन्छ। नवरात्रिको आठौं दिनमा देवी दुर्गाको महाकाली रुप (भद्रकाली) को विशेष पूजाआजा गरिन्छ। पौराणिककालमा सतिदेवीले पिता दक्षप्रजापतिले आफ्ना पति परमेश्वर महादेवको निन्दा गरेपछि हरहर महादेव भन्दै बाबु दक्षप्रजापतिको यज्ञमा फाल हानेर आत्मादाह गरिन्।
देवीभागवतका अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौँ योनी-शक्ति) का साथ यसै अष्टमीका दिन उत्पन्न हुनुभएको थियो । त्यसैले यस दिन उहाँको पूजा सोह्र सामग्रीले गर्ने गरिन्छ ।
आजको दिन बिशेषत नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआजा गरिन्छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिइन्छ । यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने गर्दै आएको छ ।
सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौंला, आदि फल अर्पण गर्दछन् । यसै दिन दसैघर -(हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।