मुख्य समाचार

आगामी उपनिर्वाचनमा पुरुषभन्दा महिलाको संख्या धेरै

काठमाडौँ ।
आगामी उपनिर्वाचनमा २४७  स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ  । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते शनिबार सम्पन्न हुने उपनिर्वाचनका लागि  ती मतदान केन्द्र तोकेको हो । बढीमा एक हजार एक सय मतदानका लागि एक मतदान केन्द्र रहनेगरी आयोगले मतदान केन्द्र निर्धारण गरेको हो । 

आयोगका प्रवक्ता एवम् सहसचिव गिरिजा शर्माद्वारा यहाँ जारी विज्ञप्तिमा उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कूल २४७ स्थलमा ५३७ मतदान केन्द्र रहने जनाइएको छ । आठ सय वा सोभन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३३७ रहेका र आठ सयभन्दा कम मतदाता रहेका केन्द्र २०० रहेका  पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सो  दिन प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४३ गरी कूल ५२ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन व्यवस्थापनको तयारी अगाडि बढिरहेको पनि आयोगले सोही विज्ञप्तिमा जनाएको छ । 

आयोगले असोज २३ गते उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावलीसमेत स्वीकृत गरेको थियो । विज्ञप्तिमा  अन्तिम  मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका स्थानीय तहका १५५ वडामा मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावली अध्यावधिक (दाबी विरोध) कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ । 

मतदाता पुरुषभन्दा महिला बढी 

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा कूल मतदाता चार लाख ५४ हजार  ११४ रहेको छन् । तीमध्ये महिला मतदाता दुई लाख ३३ हजार ४०२, पुरुष मतदाता दुई लाख २० हजार ७१० र अन्य लिङ्गी मतदाता दुई जना रहेका छन् । 

प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ मा ७१ हजार ८७१, प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५, छत्तीस हजार ९२६ र त्रिहत्तर हजार १७२ जना मतदाता रहेका छन् । मतदाता नामावलीसम्बन्धी विवरण निर्वाचन आयोगको वेबसाइटमा समेत हेर्न सकिने  आयोगले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker