आइडियाहेडलाईन

सीको सुरक्षामा काठमाडौंमा १५ हजार सुरक्षाकर्मी परिचालन, शुरक्षा ब्यवस्था कडा

काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकदेखि आकाशमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइएको छ । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दुरविन प्रयोग गरी निगरानी गर्दै आएका छन् ।

सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालन गरिएको छ ।

सुरक्षाका लागि करिब १५ हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिएको गृहमन्त्रालय स्रोतले बतायो । सुरक्षाकर्मीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सवारी रुट, चिनियाँ राष्ट्रपति सी बस्ने सोल्टी होटल तथा अन्य संवेदनशील स्थानमा खटाइएको छ ।

सी काठमाडौं उत्रिनुअघिदेखि नै नेपाली सेनाले हवाई गस्ती गर्दै आएको छ । सी विमानस्थलबाट होटल सोल्टी प्रस्थान गर्दा पनि सेनाले ‘एरियल रेकी’ अर्थात् हवाई स्कर्टिङ गर्ने छ । सवारी सुरु हुनु अघिदेखि नै सडकमा अन्य गाडी र पैदलयात्रीको आवत–जावत बन्द गरिने छ ।

महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले विशिष्ट पाहुनाको भ्रमणलाई लक्षित गरी सुरक्षा प्रवन्धमा कुनै कसर बाँकी नराखिएको बताए ।

सी काठमाडौं आउनुअघि नै चिनियाँ जनमुक्ति सेनाको कमाण्डो टोली नेपाल आएर सुक्ष्म निगरानी गर्दै आएको छ । चिनियाँ जनमुक्ति सेना सादा पोशाकमा परिचालित हुने गृह मन्त्रालय स्रोतले बतायो ।

सी दुईदिने औपचारिक भ्रमणका लागि भारतको चेन्नाई हुँदै नेपाल भ्रमणमा आउन लागेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गर्नेछिन् । चिनियाँ राष्ट्रपति सी काठमाडौं अवतरण गर्दा विमानस्थलसमेत करिब दुई घण्टा बन्द गरिने छ । उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker