धर्म संस्कृति

रोचक तथ्य : को-को हुन् ३३ कोटी देवता ?

जब जब बिज्ञानको विकास हुँदै गयो भगवान प्रतिको मानिसको धारणा बदलिंदै गएको छ । भगवानको बारेमा मानिस सोच्न थालेका छन् । यो सबै धर्मका अनुयाहिहरुमा लागु हुन्छ । भगवान छ या छैन । यकिनका साथ भन्न या प्रमाणित गर्न विज्ञानले समेत सकेको छैन । क्रृष्चियनहरुका परमेश्वर, मुस्लिमहरुका अल्लाहा , त्यस्तै हिन्दुहरुका ३३ कोटी देवता यि सबै मानव सभ्यताको गर्भमैं निहित छ ।

हिन्दुहरुका३३ कोटी देवताको बारेमा हामीले विभिन्न चर्चाहरु सुन्ने गरेका छौं । हाम्रा पौराणिक ग्रन्थहरुमा ३३ कोटी देवी देवताको विभिन्न प्रसङ्ग आउने गर्छन् । तर, के हाम्रा देवी देवता वास्तवमा नै  ३३ करोड नै छन् त ? कतै यो एक आलंकारिक मात्रै पो हो कि ? या वास्तविकता के हो त ? भन्ने बारेमा आज केहि चार्चा गर्नेछौं ।

वृहदाराण्यककोपनिषदको अध्याय तीनका याज्ञवल्क्य र शाकल्य बीचको सम्वाद विचार गर्नु योग्य देखिएको हुनाले यस सम्वादलाई यहाँ प्रस्तुत गरिँदैछ । वृहदारण्यक उपनिषद शुक्लयजुर्वेद अन्तर्गत काण्वी शाखाको वाजसनेयी ब्राम्हण अन्तर्गत पर्दछ । आकारमा यो वृहत अर्थात ठूलो एवं अरण्य (वनमा) अध्ययन गर्नपर्ने भएको हुनाले यसलाई वृहद्वारण्यक भनिएको हो ।

शाकल्यः देवता कति छन् ?
याज्ञवल्क्यः तैत्तिस

शाकाल्यले यसै प्रश्नलाई बारम्बार गरी पाँच पटक दोहोर्याए । यसो गरेको देखेर याज्ञवल्क्यले पनि हरेक पटक संख्या घटाउँदै देवताको संख्या क्रमशः छ, तीन, दुई डेढ र अन्त्यमा एकमा सीमित पारिदिए ।

शाकल्यः फेरि यी तीन हजार तीन सय छ देवगण को हुन् त ?
याज्ञः यी देवताको विभूतिहरु हुन् । देवगण त तेत्तिस मात्र हुन् ।

शाकल्यः ती कुन-कुन हुन् ?
याज्ञः आठ वसु, एघार रुद्र, बाह्र आदित्य, इन्द्र र प्रजापति ।

शाकल्यः आठ वसु को-को हुन् ?
यज्ञः अग्नि, पृथ्वी, वायु अन्तरिक्ष, आदित्य, द्युलोक, चन्द्र र नक्षत्र । जगतको सम्पूर्ण पदार्थ यसैमा समाहित छ । अतः यि वसु गण हुन् ।

शाकल्यः एघार रुद्र को-को हुन् ?
याज्ञः पुरुषमा स्थित दस इन्द्रिय, एक आत्मा । मृत्युको समयमा यि इन्द्रीयहरुले शरीरलाई छाडिदिन्छन् र प्रियजनलाई रुवाउँछन । अतः यिनीहरु रुद्र छन् ।

शाकल्यः बाह्र आदित्य को हुन् ?
याज्ञः एक वर्षमा पर्ने बाह्र महिना नै बाह्र आदित्य हुन् ।

शाकल्यः इन्द्र एवं प्रजापति को हुन् ?
याज्ञः गर्जिने मेघ नै इन्द्र हुन् र यज्ञ नै प्रजापति हुन् ।

शाकल्यः छ किसिमका देवगण कुन कुन हुन् ?
याज्ञः पृथ्वी, अग्नि, वायु, अन्तरिक्ष, द्यौ र आदित्य ।

शाकल्यः तीन देवलोक कुन–कुन हुन् ?
याज्ञः तीन लोक (पृथ्वी लोक, स्वर्गलोक र पाताल लोक) । यी तीन देवता हुन् । यसैमा सबै देवगणले बास बस्ने गर्दछन् ।

शाकल्यः दुई देवता को–को हुन् ?
याज्ञः अन्न र प्राण नै दुई देवता हुन् ।

शाकल्यः यी डेढ देवता चाहिँ को हुन् त ?
याज्ञः वायु डेढ देवता हुन् । किन कि यी बहन्छन् र यसैबाट सबैको वृद्धि हुन्छ ।

शाकल्यः एक देवता को हुन् नि ?
याज्ञः प्राण नै एक्लो देवता हो । यही नै ब्रम्ह हो, यही नै तत्व हो ।

यस प्रकार सनातन धर्ममा देवताको संख्या यहाँ तेत्तिसकोटी (तेत्तिस करोड) नभएर मात्र ३३ प्रकारका बताइएको छ ।

स्रोतः ज्योतिर्विज्ञानमञ्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker