पिपला ढुंगानाका पाँच मुक्तक

१
आँखै अगाडि मायाजालमा, माकुरो आफैँ समाधि लिन्छ
नजानेरै कराउँदो हो झ्याउँकिरी, फुटेरै शीर जिन्दगी सकिन्छ
उ कसरि जान्दथ्योर बाआमाको भागबन्डा इजलास नछिरुन्जेल?
हिजोसम्मको मुटुको टुक्रा वादीले लिन्छ कि प्रतिवादीले लिन्छ
२
निराकार थियो जिन्दगिले आकार बनायो
सपना पनि देख्नैका लागि साकार बनायो।
लम्बा चौँडा नजान्ने त्यो मूर्ति जस्तो मान्छेलाई
हेर्दाहेर्दै समयले कलाकार बनायो।।
३
बिर्से पनि बज्रिएका लाठि मुङ्ग्रा तीरहरु
खीलझै गड्छ जिन्दगीमा जालझेल छलका झिरहरु।।
समयले पुर्दोरैछ तनका चोट आस्ते आस्ते
मर्दो रैछ मान्छे भित्रै लिलाम हुँदा तक्दिरहरु ।।
४
उसलाई नपुंसक बनाइयो
कमजोर समयलाई हिंस्रक बनाइयो
रचेर नौटंकी, बिच्छ्याएर पर्दा
जिन्दगी रंगमञ्चको नाटक बनाइयो।।
५
नचाहेरै याद हुने तिथि, मिति, घडी र क्षण
दुखेको त्यो समय र तिर्न बाँकी आमाको ऋण
मिल्ने भए बिर्सनलाइ केही किस्सा अतितका,
बिर्सिदिन्थे आफ्नै मुटु बन्दकिमा राखेको दिन ।