विशेषसाहित्य

म शून्यमा शून्य सरी बिलाएँ : सन्दर्भ लक्ष्मी जयन्ती

[mashshare]

आजको दिन नेपाली साहित्यकालागि अत्यन्त विशेष दिन हो । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवी लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतिको प्रसादका रूपमा जन्म भएको हो ।नेपाली साहित्य अनि वाङ्गमयमा महाकवी देवकोटाको योगदान उल्लेखनिय छ । वहाँका अमर कृतीहरुः मुना-मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतीहरुले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।

“क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन”

मुनामदनको यी श्लोक उतिबेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी समाजिक न्यायको विगूल स्वरूप महाकवी छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ, उतिबेलाको नेपाली समाजकालागि यो एउटा ठूलो क्रान्ति नै हुनुपर्छ । शायद यहि कारणले गर्दा होला उनको लेखनको चर्चा विभिन्न अन्तराष्ट्रिय लेखकहरुले पनि दिलखोलेर गरेका छन् ।

तिन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवी लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात लक्ष्मीपूजा कै दिन जन्म भएको हो ।

“के नेपाल सानो छ र!” भन्ने महाकवी लक्ष्मीप्रसाद देवकोटाको निबन्ध त विधालय पाठ्यक्रममै पनि हामीमध्ये धेरैले पढेका छौं । निवन्ध स्वरुपमा अझ प्रखर र भरिला अभिब्यक्तिहरु दिनसक्ने महाकवीले सत्र वर्षको उमेरमैं भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज काठमाण्डौमा कलामा स्नात्कोत्तर अध्ययन गर्नुभएको हो । वहाँका मुनामदन, वनकुसुम, प्रमिथस लगायतका कृतीहरु अनि भिखारी, गाईनेको गीत, पागल, पुलती लगायतका कवितासंग्रहहरु नेपाली साहित्य अनुरागीकालागि सृजनाको कोशेढुङ्गा साबित भएको छ । वहाँका कृतीमा वेदना र रसिकताको अद्भुत मिश्रण सहितको एउटा सम्मोहन पाइन्छ ।

भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।

देवकोटाका जिवनका बिभिन्न घटनाक्रमहरु अत्यन्त प्रसिद्ध र अचम्म लाग्दा पनि छन् । बिद्यालय जिवनमा आफूले लेखेका कविताहरु साथीहरुलाई सुनाँउदा उनिहरुले त्यो कविता देवकोटाले ने लेखेका हुन भनेंर पत्याउथेनन । शुरुवातकालिन दिनहरुमा कवी शिरोमणी लेखनाथ पौड्यालका कृतीहरुबाट प्रेरित देवकोटा पछि गएर पश्चिमी सर्जकहरु वर्डसवर्थ र सेलीका अंग्रेजी सृजनाहरुलाई पनि पढ्न थाले । पढाई का हिसाबमा देवकोटाले आईएस्सी त्रिचन्द्र कलेज वाट गरेका हुन् भनें बिए बिएल चाँही पटना विश्वबिद्यालयबाट गरेका हुन् ।

बर्खामा पानी पर्दा छाताका कारणले कार्यालय ढिला पुगेका देवकोटाले एकदिनभरि नै लगातार छाताका बिषयमा भाषण गरिदिएका थिए । दिनै भरि एउटा उदेक लाग्दो विषयमा भएपनि आकर्षक शब्दहरुको माला र वहूआयाम केलाउनसक्ने देवकोटाको कलम र मस्तिष्कमा वास्तवमै लक्ष्मी र सरस्वतीका अवतारकै रुपमा नेपाली बाङ्गमयको प्रगतिकालागि आएका हुन् ।

वर्तमान त्रिभूवन विश्वविद्यालयको ब्यवस्थापन अनि बढोत्तरीकालागि पनि महाकवी आफू शिक्षा मन्त्रीहुँदा गरेका दूरगामी कदमहरु प्रशंसनीय छन् ।

चिताग्नि तापी जल डाल्न फाली
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखीर भै खाक त्यसै बिलाएँ।

वि सं २०१६ सालमा संसारबाट विदा भएका यिनै महाकवीको आजको यो जन्मजयन्तिमा वहाँप्रति श्रद्धासुमन । भाषा, साहित्य र हाम्रा मूर्दन्य साहित्यकार तथा श्रष्टाहरू वहाँहरूको सृजनासंगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुञ्जेल बाँचिरहनुहुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker