
काठमाडौं।
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच भएको श्रम समझदारी (एमओयु)को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी)को पहिलो बैठक आइतबारदेखि काठमाडौंमा प्रारम्भ भएको छ ।
दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदार भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषयलाई बैठकले टुंग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
बैठक दुई दिनसम्म चल्नेछ ।
बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रुप दिने मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिए ।
उनकाअनुसार बैठकले एमओयु कार्यान्वयनको ‘मोडालिटी’ टुंगो लगाउनेछ ।
बैठकमा ६ सदस्यीय नेपाली प्रतिनिधिमन्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले गरेका छन् भने युएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गरेका छन् ।
बैठकमा सहभागी हुन युएईको प्रतिनिधिमन्डल शनिबार काठमाडौं आएको थियो ।
आबुधावी डायलगको पाँचौं मन्त्रिस्तरीय बैठकमा सहभागी हुन गत असोज अन्तिम साता युएई पुगेका श्रममन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच दुबईमा भएको छलफलमा समझदारीपत्रमा उल्लेख भएअनुसार नोभेम्बर पहिलो साता संयुक्त कार्य समूहको बैठक बस्ने सहमति भएको थियो । रासस