राजनीति

प्रधानमन्त्री ओली पदबाट राजीनामा दिंदै

[mashshare]

काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् । नेकपा स्रोतले दिएको जानकारी अनुसार अबको केहि समयमै ओलीले राजीनामा दिने तयारी गरेका छन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि पार्टीका नेताहरुले समेत उनलाई आराम गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री र पार्टीको अध्यक्ष पदमा रहेका ओलीलाई अहिले दुवै जिम्मेवारी पुरा गर्न गाह्रो भैरहेको र प्रधानमन्त्रीबाट राजीनामा दिएर कुर्सी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुम्पिने उनको तयारी रहेको स्रोतको दावी छ ।

ओलीले कहिले कुर्सी छोड्दैछन् भन्ने एकिन मिति भने स्रोतले खुलाउन चाहेंन । तर उपनिर्वाचनपछि उनले राजीनामा दिनसक्ने स्रोतको दावी छ ।आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका, २०७६ को दफा २२ को अनुसूची–५ र स्थानीय तहका लागि स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ५ को अनुसूची–१ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नुपर्नेछ । ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यता बुधबार मात्रै प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबिच आधा-आधा समय सरकारको नेतृत्व लिने विषयमा भएको सहमतिबारे नयाँ खुलासा गरेका छन् । उनले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको उक्त सहमति इतिहास भइसकेको बताएका छन्। प्रेस सेन्टर,दाङले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहालले पाँच वर्षसम्म यही सरकार स्थायी रूपमा चल्ने बताए। त्यसैगरी अध्यक्ष दाहालले हालै भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलाई भारतभित्र समेटिएको कुरामा सरकारको ध्यान गएको बताए।

उनले भारत भ्रमणका समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लिपुलेकका बारेमा कुरा गरेको उल्लेख गर्दै ‘यो सच्चिनुपर्ने’ बताएको उल्लेख गरे। उनले यसलाई कुटनीतिकरूपमा हल गर्नुपर्ने भनाइ राखेका थिए। यस्तै प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर महराबाट नैतिक कमजोरी भएको बताएका छन् । पत्रकार भेटघाटमा बोल्दै दाहालले महराले नैतिकरुपमा गल्ती गरेका कारण कानुनीरुपमा उचित कारवाही हुनुपर्ने धारणा व्यक्त गरे ।

लामो सयमसम्म महराबारे सार्वजनिकरुपमा नबोलेका दाहालले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘महराले गम्भिर नैतिक गल्ती गर्दा पनि उल्टै पार्टी अध्यक्षलाई ढाँटेर झन ठूलो गल्ती गर्नुभयो । महरासँग घटनाबारे जानकारी माग्दा गलत कुरा बताउनुभयो,’ उनले भने, ‘पहिले केही गरेको छैन भन्नुभयो । पछि सबै तथ्यहरुले उहाँले गल्ती गरेको पुष्टि भयो । आफैंले पनि स्विकार्नुभयो ।’

जिम्मेवार पदमा पुगेको व्यक्तिले अनैतिक काम गर्नु र पार्टी नेतृत्वलाई ढाँट्नु झन् नराम्रो काम भएको उनले बताए । ‘पहिले अरु नेताहरुलाई बुझ्न पठाएँ, गलत जानकारी दिनुभयो । चित्त नबुझेर आफैं बुझ्न गएँ तर पनि सही कुरा भन्नुभएन,’ उनले भने, ‘आफ्नो नेतृत्वलाई त्यसरी ढाँट्नु उचित भएन । झन् गल्ती भयो ।’ महराले गरेको गल्तीका बारे अदालतले आवश्यक न्यायिक निर्णय गर्नेमा आफूहरु आशावादी रहेको दाहालले बताए । यस घटनाले अन्य गलत काम गर्नेहरुलाई पनि सजग गराउने धारणा दाहालले व्यक्त गरे ।

‘यो गम्भिर नैतिक गल्ती हो । यस्तो घटनामा राजनीतिक संरक्षण उचित हुँदैन,’ उनले भने, ‘अदालतले निर्णय गर्ने कुरामा हामीले केही बोल्नु उचित हुँदैन । स्वतन्त्ररुपमा छानबिन र निर्णय गर्न दिनुपर्छ ।’ महराले आफूले गरेको गल्ती स्विकार गर्दै कानूनी प्रक्रियामा राज्यलाई सहयोग गर्नुपर्ने बताउँदै दाहालले फेरी सच्चिएर जनताको सेवामा फर्कने आशा व्यक्त गरे । यसैबीच समाजवादी पार्टीले कात्तिक अन्तिम साता बस्ने केन्द्रीय कमिटी बैठकबाट सरकारमा बस्ने\नबस्ने निर्णय गर्ने भएको छ। समाजवादी पार्टीले कात्तिक २८ गते संघीय परिषद र २९,३० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

त्यही बैठकले सरकारमा बसिरहने कि बाहिरिने बारे निर्णय लिने समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठले बताए। सहमतिअनुसार प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनमा चासो नलिएको समाजवादी पार्टीले आरोप लगाउँदै आएको छ। प्रदेश प्रमुखकको नियुक्तिमा त पार्टीलाई सोध्नेसम्म पनि नगरिएको समाजवादी पार्टीको आरोप छ।‘अब सरकारमा बस्नुको औचित्य सकिएको हो किजस्तो भएको छ। सरकारमा रहेको पार्टीलाई हरेक विषयमा प्रधानमन्त्रीले बेवास्ता गर्दै आउनुभएको छ,’ श्रेष्ठले भने,‘प्रदेश २ मा हाम्रै पार्टीको तर्फबाट प्रदेश प्रमुख हुनुहुन्थ्यो तर सरकारले हटाउने निर्णय गर्‍यो। संविधान संशोधनमा पनि चासो देखिएको छैन।’

२०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त गर्दा तत्कालीन शेरबहादुर देउवा सरकारले प्रदेश २ र ५ मा समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालनिकट मानिस राखेको थियो। यता प्रधानमन्त्रीनिकटहरूले भने प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्रीले समाजवादी पार्टीसँग छलफल गर्न जरूरी नरहेको बताएका छन्। ‘प्रदेश प्रमुख नियुक्तिमा पार्टीका बरिष्ठ नेता माधव नेपालको त सुनुवाइ भएन भने उपेन्द्र यादवलाई प्रधानमन्त्रीले किन सोध्नुहुन्थ्यो,’ श्रोतले भन्यो, ‘उपेन्द्र यादवको पर्फमेन्स पनि गतिलो छैन। यद्यपी प्रधानमन्त्रीले उहाँलाई पनि सँगै लिएर जान खोज्नुभएको छ।’

समाजवादी पार्टीले सरकार छोडे पनि राजपा सरकारमा आउने सत्तापक्षको बुझाइ छ। यद्यपी राजपाले समाजवादी पार्टीलाई सरकार छोड्न दबाब दिइरहेको छ। राजपाले पार्टी एकताका लागि समाजवादी पार्टी सरकारबाट बाहिरिनु पर्ने सर्त राख्दै आएको छ।प्रधानमन्त्री केपी ओलीले आफ्ना काममा असहयोग गरेको उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफूनिकटका नेताहरूसँग भन्दै आएका छन्। ‘उपप्रधानमन्त्री पनि प्रधानमन्त्रीसँग सन्तुष्ट हुनुभएको छैन। हरेक कामहरु अड्क्याइदिनुभएको छ,’ यादवनिकट स्रोतले भन्यो,‘सरकारमा बस्ने नबस्ने निर्णय त पार्टी बैठकले गर्छ तर त्यति राम्रो संकेत देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker