आइडियासाहित्य

वर्ष २०१९ को सर्वोत्कृष्ट प्रेम पत्र : रामनुराको प्रेमिल धर्मयुद्धलाई

[mashshare]

प्रिय नुरा
सलाम वालेकुम, धेरै सम्झना ।

शब्दमा चन्द्रबिन्दु त थप्न नजान्ने म, आज तिम्रो मुटुलाई केन्द्रबिन्दु बनाएर यो पत्र लेख्ने प्रयास गर्दैछु । लेख्नु त “ तिमी बिना पनि खुसी नै छु म ” थियो तर पत्र कलमको मसीले भिज्नु अगावै आँसुले भिज्न पुगेछ । यो सपना हराएको सहरमा “ नचाहेरै पनि साथ छोड्नैपर्ने हुँदोरहेछ । यहाँ केही तत्वहरुलाई प्रेम भन्दा शक्तिशाली करार गराइँदो रहेछ । ”

स्वतन्त्र भनिने नदी जसरी कैद छ अदृश्य तरिकाले बाटाको ओरालीमा, त्यसरी नै प्रेमको स्वतन्त्रतालाई कैद गरिदिँदा रहेछन् – समाजका मौल्वी, पण्डित र पादरीहरूले । यही स्वतन्त्र प्रेमको पिँजडा भित्रबाट एक कर्कसतापूर्ण आवाज लेखिरहेछु, प्रश्न गरिरहेछु । कास तिम्रो नाम सीता हुन्थ्यो वा मेरो नाम रसुल, सायद हामी एक अर्काका हुन्थ्यौँ होला ? नुरा न तिम्रो गल्ती थियो, न मेरै गल्ती थियो , न किस्मत नै मुज्रिम थियो, बस् म हिन्दु थिएँ तिमी मुस्लिम थियौ । तिम्रा मौलवीहरूको अल्लाह, मेरा पण्डितहरूको शंकर थियो, गीता कुरानको अन्तर थियो । धर्ममा अन्धो यो संसार कसरी देख्थ्यो हाम्रो निश्वार्थ प्रेम ? नदीको बहाव जस्तै निश्वार्थ, बोट उम्रेर रूख बनेजस्तै निस्वार्थ बरू परोपकारी हुँदाहुँदै पनि किन उल्टै त्यही नदीमा बाँध हालिदिन्छन , त्यही रूख काट्न तम्सिन्छन यहाँ समाजका धर्मगुरुहरू ? मन्दिर र मस्जिदको बीचको दूरीमा, आयात र श्लोकको उच्चारणमा कतै लापता भइसकेको छ “वासुदैव कुटुम्बकुम “

नुरा याद छ त्यो दिन, हामीले एक फकिरको झोलीमा मात्र २ रुपैया हालिदिँदा उसले दिएको आशीर्वाद । तिमीले भनेकी थियौ, ’“राम ! महंगीको यो दुनियामा केही कुरा अझै पनि सस्तै रहेछन ।“ हो नुरा, यहाँ अझै केही कुरा सस्तै रहेछन । यहाँ सस्ता ज्ञान, सस्ता विचारहरू मडारिएका रहेछन । मलाई हाम्रो प्रेमले हामीलाई हिटलरको कन्सनट्रेसन क्याम्पमा झैँ कैद गर्न खोजिरहेका यी धर्मगुरुहरूलाई प्रेमको ज्ञान दिइ एक पवित्र भक्तिभाव सिकाउने मन छ ।

किन बुझ्न सक्दैनन् कि हामी हाम्रो प्रेमले नास्तिकहरूको इलाकामा पनि हृदय मन्दिर, आत्मा भगवान अनि प्रेम प्राथना हुने सहर बसाउन सक्छौँ । यो अन्धो संसार किन देख्दैन मेरो तस्बिर तिम्रा नयनमा जमेको, जो बगेन कहिल्यै कुनै आँसुका धाराले ? मलाई बुझाउनुछ हाम्रो प्रेमले मन्दिर र मस्जिदका भित्ताहरूलाई कि नुरा कुनै साजिद, जुबेर, मुहम्मदको नभएर नितान्त राम कै हो अनि राम, उसकै नुराको ।

म अझै पनि हाम्रा पुराना दिनहरू सम्झेर यादहरूमा हराउने गर्छु । नुरा बादलले ढाकिएको यो जीवनको सूर्योदय थियौ तिमी । नुरा सम्झिने गर्छु म तिम्रो मुहार, तिम्रो हिँडाइ, बसाइ, बोलीचाली सबै । एक्लै हुँदा, अझै पनि गुन्जायमान हुने गर्छन मेरो कानमा तिम्रो हाँसोहरू । स्वयम्भुनाथ घुम्न गएको दिनको त्यो तिम्रो हाँसो यति मीठो लागेको थियो कि अझै पनि सम्झिए भनेँ मलाई आफ्नै हातमा भएको मन्दिरको पेडाको स्वाद पनि तुलनात्मक खल्लो लाग्छ । निकै गाह्रो हुँदोरहेछ यादहरूको साथमा जीवन बिताउन ।

न त यो मनबाट हटाउन सक्छु
न विश्वास गरी मुटुमा अटाउन सक्छु
मैले यो कस्तो हिसाब सुरू गरेछु प्रेमको ?
न जोड्न सक्छु, न घटाउन नै सक्छु !

नुरा मैले जुन प्रेमको यो हिसाब सुरू गरेको छु, यसमा तिमीलाई मेरो जीवनबाट घटाउन कसैले सक्ने छैन वा भनुम म तिम्रा लागि समाजसँग लड्न परे त्यसका लागि पनि तयार छु । यो प्रेमको हिसाब हो नुरा, यहाँ १ मा १ जोडेर १ नै हुनेछ, त्यस्तै हुनेछ हाम्रो आत्माको मिलन पनि ।

किन मैले नमाज पढ्न पाउँदिन ?
किन तिमीले पूजा गर्न पाउँदिनौ?
किन कसैको प्रमाण जरुरी भएको छ?
किन म तिम्रो, तिमी मेरो जुठो खान सक्दिनौ, पिउन सक्दि
नौ ?

यो प्रेमपत्र तिमीलाई सम्बोधन गरे पनि, यो पत्र समाजको लागि पनि हो । यो पत्र अहिलेसम्म धर्मको पिँजडामा निस्सासिएका सबै रामनुराहरूको एक सामुहिक विद्रोहको विगुल पनि हो जो घन्किरहनेछ मृत्यु पछिको एकोहोरो संखनाद जस्तै, प्रेमलाई कैद गर्न खोज्ने धार्मिक पिँजडाको मृत्युको उपमा बनेर । नुरा हेरन यो समाज , यी धर्मगुरुहरू खुबै ज्ञानको कुरो गर्छन गीता, कुरान, वेदका अरे कुन आयात वा श्लोकमा लेखिएको छ र, “तिमी मेरो पत्नी हुन पाउँदिनौ अनि म तिम्रो पति परमेश्वर ?“

तिमी पवित्र हुन गंगा स्नान गएथ्यौ, म पनि त भोकै बसेथे रमजानमा । अनि किन माटो फाल्दैछन उपरवालाको फरमानमा ? किन हामी मारिएनौ, कलिला पखेटा मात्रै काटिए, न त उड्नै दिइयो सँगै एक आसमानामा, न त दफन नै भयौ एक मसानमा । साँच्चिकैमा हिन्दु मुस्लिम एक हुनु मन्जुर ए खुदा थिएन भने किन बच्छ ज्यान एकअर्काको रक्तदानमा ? कास

चिच्याइदिन्थेँ यो कुरा गीताका श्लोकहरू, कुरानका आयातहरू पानाबाट बाहिर निस्केर, मन्दिरको घण्टी र मस्जिदको अजानसँगै पण्डित, मौलवी र पादरीका कानहरूमा ।

नुरा हेरन तिमी हरबखत साथ नहुने हुनाले तिमीलाई यत्रतत्र छरेर राखेको छु । दोबाटोमा, हरेक गन्तव्यमा, आँगनको फूलहरूमा मैले तिमीलाई सजाएको छु। सजाएको छु तिम्रा स्मृतिहरू हामी सँगै गएका हरेक मन्दिरका घण्टीहरूमा, बाँधेको छु तिम्रा स्मृतिहरू दर्गाहको त्यो धागोमा । पहिलोपटक तिमीलाई त्यो मस्जिद अगाडि बुर्कामा देखेको थिएँ, तिम्रा खैरो चम्किला आँखाहरू, पगलाइका पुखराज पत्थरहरू जस्तै जो बनाइएका थिए संसारलाई तिम्रै आँखामा प्रतिविम्बित गर्न । अहिले त हामीलाई एकअर्काबाट छुट्याइए देखि बाँचिरहेछु केवल यादहरूको साहरामा । तिम्रो र मेरो बीच खडा गरिएको छ एक पर्खाल र निस्सासिरहेछु, त्यै पनि हाम्रो प्रेममा अझै विश्वास छ मलाई, तिमी र म एक हुने आस मरेको छैन ।

रित्तिसक्यो मेरो जिन्दगी तर आस बाकीँ छ
जलाउन हतार नगर न हे मलामी, अलिकति त सास बाकीँ छ

नुरा, हाम्रो आधाअधुरा सासहरूले नै गर्नुपर्छ एक धार्मिक क्रान्ति । अबबाट म पशुपति जाँदा, महादेवका लागि नमाज पढ्नेछु र माग्नेछु तिमीलाई हात फिँजाएर । तिमी जामे मस्जिदमा अल्लाहको लागि पढिदेउन् गीताका केही श्लोक मलाई पाउने चाहना बन्द हातमा च्यापेर । बेवफा कहालिरहेको हाम्रो प्रेम, हाम्रो कदमले बाघी हुनेछ र पुर्याउनेछ कुनै रामनुरालाई मन्जिलसम्म । हाम्रो आजको एक कदमले भविष्यमा ठूलो उपलब्धि महसुस हुनेछ । कृष्णलाई हरियो चद्दर ओढाइनेछ अनि अल्लाहलाई रातो सल । अल्लाहको बजारमा भेटिनेछ मुर्ति अनि हिन्दु भाइहरू भेटिनेछन् पुज्दै आफ्ना पुर्खाको खण्डहर । मौलवी र पण्डित गर्नेछन एकअर्काको सम्मान । बाडिने छ मन्दिरमा तबर्रुक अनि मस्जिदमा प्रसाद । आहा हेरन नुरा हाम्रो एक कदमले कति सुन्दर समाज निर्माण हुनेछ ।

नुरा, हामीले जसरी पनि यी धर्मका दलालहरूलाई बुझाउनु छ अस्लियातमा भगवानको अर्थ । हामीले सँगै पढेको वेद अनि कुरान दुवैमा एकै कुरो त उल्लेख थियो, “भगवान सिर्फ एक छन ।“

“एक ब्रह्मा द्वितीय नास्ती,
ला इलाह इल्ल’लाह मुहम्मदुन रसुल अल्लाह“

नुरा आज बुझेँ मैले त्यो सबैको एकै भगवान को रहेछ । त्यो भगवान भन्नु हामी जस्तै एकअर्कालाई भेट्ने ताकुब, प्यासमा रहेका रामनुराहरूको आत्माहरू, एकहुँदा निस्कने उर्जा रहेछ । हामी हिन्दु मुस्लिम भन्नु त फरक भाषा जस्तै रहेछ ईश्वर पुज्ने, खुदा पुज्ने । आखिर प्रेमभन्दा ठुलो इबादत नै के हुन्थ्यो र ? सबै धर्मले प्रेम नै सिकाउँछ, प्रेमको कुनै धर्म हँुदैन, यो एक आफैमा एक धर्म हो ।

हेरन नुरा, यो पत्रमा मैले मिति नै हालिन । यो पत्र बाँच्नुपर्छ नुरा त्यसैले पत्रलाई मिति हालेर समयको कैदमा गिरफ्तार गराउन चाहिन । यो पत्र सबै रामहरूले आफ्नो नुरालाई लेखेको, लेख्न नसकेको पत्रहरूको प्रतिनिधित्व गर्ने पत्र बन्नुपर्छ र जब जब कुनै प्रेमिल हृदयहरूको बीच धर्मको कालो बादल मडराउन खोज्नेछन, सावधानी दिन सक्नुपर्नेछ यो पत्रले । हाम्रो प्रेम अमर छ नुरा, अमर हुनेछ यो नाम रामनुरा र मुनामदन, रोमियो जुलियट, लैला मज्नु झैँ अग्रपङ्तिमा लिइनेछ यो नाम पनि ।

नुरा, हिँड अब जाउँ हामी दुई सात हजार समुद्र पर यो सही गलतको संसार पर अवस्थित छ अरे एक मैदान, जहाँ हिन्दु मुसलमान भन्ने छैन अरे, छैन अरे मजहबी प्रेम, छैन अरे मेनुकाले अब्दुल्लालाई मपराउन रोक । त्यहाँ सीता मोहम्मदकि हुन पाउछे, घनश्यामहरू रदिफाका लागि दिल दिँदैछन । दावुद इब्राहिम कृष्णको बासुरी बजाउँदै छ अनि हिजाब लगाएकी मीरा त्यही धुनमा मुग्ध छे ।

त्यहा सङ्गै लेखौला अयोध्या र मक्काको बात
मन्दिरको आरती र मस्जिदको आजान एकै साथ
उर्दुमा गीता अनि संस्कृतमा कुरान अनुवाद

हामी बाँच्ने संसारमा त सबैका नजरमा धर्मको कालो चस्मा छ । छोडिदिम न यो संसार, मान्छौ नि है तिम्रो रामले भनेको अनि स्थापित होस् न नाम सदाका लागि रामनुरा ।

नुरा तिमी राम कि हौ
नुरा तिमी राम कि हौ
नुरा तिमी राम कि हौ
उही तिम्रो,
राम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker