पत्रपत्रिकामुख्य समाचार

मौलिकता मासेर यसरि बनाइयो गाउँलाई शहर

काठमाडौं ।
हाँडीगाउँ। पुरानो उक्ति छ- ‘कहीं नभएको जात्रा हाँडीगाउँमा।’ तर यसको पुरानो नाम अर्कै थियो। बदलिएर कसरी हाँडीगाउँ हुन पुग्यो, धेरैलाई थाहा नहुन सक्छ।

संस्कृतिविद् हरेराम जोशी भन्छन्, ‘कुनै समय धोबीखोलानजिकै फाँटमा अण्डी जातको धान प्रशस्त उत्पादन हुन्थ्यो। नेवार समुदायमा पाहुना आउँदा सोही धानको भात खुवाउने चलन थियो। त्यसले उक्त क्षेत्रलाई अण्डीग्राम भनिन्थ्यो।’ उनका अनुसार हाँडीगाउँको प्राचीन नाम अण्डीग्राम भएको १२ औं शताब्दीको अभिलेखबाट पत्ता लागेको छ। इटालीका पुरातत्वविद्ले गरेको अध्ययनबाट यो तथ्य भेटिएको जोशीले बताए। टोलमा विष्णु मन्दिर रहेकाले हरिग्राम पनि भनिन्थ्यो। बदलिँदै, बिग्रंदै यो हाँडीगाउँ हुन पुग्यो।

राजधानीका थुप्रै ठाउँका मौलिक तथा स्थानीय नामको इतिहासै मेटिने गरी परिवर्तन भइरहेको बताउँछन् संस्कृतिविद् जोशी। कुनै ठाउँको नाम जनजिब्रोलाई सजिलो हुने गरी परिवर्तन गरिएको छ। कुनैको नाम अपभ्रंश भई परिवर्तन भएका छन्। कतिपय ठाउँको नाम राजनीतिक व्यवस्था परिवर्तन हुँदा दस्ताबेजबाटै हटाइएका छन्।

काष्ठमण्डपबाट काठमाडौं नामकरण गरिएको धेरैको बुझाइ छ। काष्ठमण्डपकै नामबाट श्री काष्ठमण्डपे, श्री काष्ठमण्डप पुरी, काष्ठमण्डप नगर अनेक नाम राखिएका छन्। यस क्षेत्रको स्थानीय नाम येँः हो। नेपालभाषामा अहिले पनि येँः भनिन्छ। ललितपुरको नेवारी नाम यलः हो। पाटनढोकालाई यलः ध्वखाः भनिन्छ। भक्तपुरको ख्वपः, कीर्तिपुरको किपू, बुंगमतीको बुंग मौलिक नाम हुन्। मौलिक नाम राख्नुका कारण छन्। परिवर्तित नामले कुनै पहिचान नबोकेको संस्कृतिविद् जोशी बताउँछन्।

जोशीका अनुसार भक्तपुरको मौलिक नाम खृपुङग्राम अर्थात् ख्वपः हो। ललितपुरको ललितपत्तन, नक्सालको नीलीशाला, पनौतीको पुण्यवती र बनेपाको पुरानो नाम बन्दिकापुर हो।

कुनै बेला अहिलेको नक्सालमा एउटा ढुंगेधारा थियो। त्यसलाई नीलीशाला भनिन्थ्यो। त्यसैबाट अपभ्रंश भएर नक्साल नामकरण गरिएको भनाइ जोशीको छ।

बुंगायुमीबाट बुंगमती नाम रह्योे। बुंगा भनेको पानी जम्मा हुने खाल्डो परेको ठाउँ हो। १३ सय वर्ष पुराना अभिलेखले उक्त ठाउँको नाम बुंगायुमी भएको देखाउँछ। बंगा क्षेत्रमा धेरै भमरा पाइन्छ। रातो मच्छिन्द्रनाथलाई तान्त्रिक विधिद्वारा भमरा बनाई कलशमा बन्द गरेर नगर प्रवेश गराउने चलन कायमै छ।

चारैतिर खोलाले घेरेको ठाउँ भएकाले भक्तपुरलाई ख्वपः भनिएको हो। पुण्यवती नदीका नामबाट पनौती भयो। टुँडिखेलको नाम कुनै समय तिंख्यः थियो। हालको माइतीघर मण्डलाको नाम फिब्वः ख्यः हो।

सजिलोका लागि परिवर्तन भएका नाममा लेम्बटिद्रङ-लेले, नालङाम-नाला, तिप्रक्वछें-सुकुलढोका, शङ्गाग्राम-साँगा हुन्। उपत्यकाका थुप्रै चोक तथा टोलका नामसमेत समयअनुसार परिवर्तन भएका छन्। जसमा सुतिग्ल-सौगल, चोकनमगुंगी टोल- चिकंमुगल टोल, ठानिगल-टंगल आदि।

आधुनिक नाम राख्ने प्रचलनले ठाउँको पहिचान मेटिएको छ। संस्कृतिविद् जोशीका अनुसार यसको एउटा उदाहरण काठमाडौंको खिचापोखरी हो। राणाकालसम्म त्यहाँ पोखरी थियो। स्थानीय त्यहाँ मुख धुन जान्थे। नेपालभाषामा अनुहारलाई ‘खे’ र धुनुलाई ‘चा’ भनिन्छ। मुख धुने पोखरी भएकाले उक्त स्थानलाई ‘खेचा पुखू’ भनिन्थ्यो। अहिले खिचापोखरी भनिन्छ।

वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः ले आधुनिकीकरणसँगै काठमाडौंमा धेरै स्थानको नाम मेटिँदै गएको भन्दै चिन्ता जनाए। ‘पश्चिमी प्रभावसँगै काठमाडौंको मौलिकता मासिँदै गएको छ,’ उनले भने, ‘नेपाल चिनाउन काठमाडौंसँग अब केही बाँकी छैन।’ विकासका नाममा सबै पुराना सम्पदा मेटाउँदा मौलिक नाम मेटिएको भनाइ ग्वंगः को थियो।

सम्पदा अभियन्ता गणपतिलाल    श्रेष्ठ आधुनिकीकरणसँगै मौलिक पहिचान जोगाउनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘कुनै पनि ठाउँको नाम त्यहाँको अस्तित्वसँग जोडिएको हुन्छ। बस्तीको पहिचान मेटाएर नाम परिवर्तन गर्दा ठाउँको मौलिकता गुमेको छ।’

यो समाचारलाई सपना महर्जनले अन्नपुर्ण पोष्टमा लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker