आइडियाकृषी

थोरै लगानिमा सिताके च्याउको ब्यबसायिक उत्पादन कसरि गर्ने ? थाहा पाउनुहोस् ।

[mashshare]

काठमाडौं ।
जापानी भाषामा कटुसको मुढामा फल्ने च्याउलाई ” सिताके ” भनिन्छ। सिई= कटुसको रुख,+ ताके= च्याउ अर्थात् कटुसको मुढाको च्याउ दुईवटा उच्चारणहरु मिलेर सिई + ताके एउटा वाक्य बन्दछ सिताके। तर जापानी भाषामा “ताके” मात्र भनेर च्याउ भनि बुझ्दैनन्, यसलाई “ किनोको ” KINOKO भनेपछि मात्र च्याउ भन्नेकुराको अर्थ लाग्दछ। नेपालमा यसलाई “सिताके” भनेर उच्चारण गरिन्छ भने वास्तवमा यसको सहि उच्चारण “सिईताके” हो। नेपालमा यस च्याउलाई मृग को जस्तो रंग र बुट्टेदार भएकोले यसलाई नेपालमा मिर्गेच्याउ पनि भन्ने गरिएको छ। करिब ४०० वर्षदेखि सिताके (मृगे) च्याउ एउटा प्रसिद्ध परिकारको रूपमा एशिया महादेशमा रहँदै आएको छ । पहिले यस च्याउलाई औषधीको रूपमा प्रयोग गरिएको तथ्यहरु भेटिन्छ । तर अहिले यो च्याउ अन्य विभिन्न फाईदाहरुको कारणले दिन प्रतिदिन मानिसहरुको मन जिति भान्छा भान्छामा पुग्न सफल भईरहेको छ । यसमा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्वहरु प्रसस्त मात्रामा हुनुको साथै क्यान्सर जस्ता डरलाग्दा रोगहरुसँग लड्नसक्ने शक्ति हुनु र सुवादमा पनि निकै मिठो हुनुको कारण पनि यसको माग बिश्व भरि नै दिनौं बढ्दै गइरहेको छ । कृषि क्षेत्रमा हाल यसको मागहरु बढ्दै गइरहेको अवस्थामा , यो व्यवसाय हाल एशियाको जापान, चिन, मात्र सिमित नभई संसारका बिभिन्न देशहरुमा यसको माग दिनौं बढ्नुको साथै नेपाल लगायत दक्षिण एशियाई देशहरू भारत, श्रीलंका, बंगलादेश, र भुटानमा समेत यसको प्रभाव दिनों बढ्दै गइरहेको देखिन्छ । सिताके च्याउका फाईदाहरु: क्यान्सर (अर्बुद्ध) रोगसंग लड्ने शक्ति प्राप्त हुने, मुटुको स्वास्थता बढाउने, शारिरीक शक्ति तथा स्मरण शक्ति बढाउने, Vitamin D को श्रोत, सिताके च्याउ मा अण्डा, माछा, मासुमा भन्दा अधिक प्रोटिन पाउनुका साथै हरियोसाग सब्जीमा पाइने Vitamins Minerals, Enzymes र Amino Acid हरु प्रशस्त मात्रामा पाईने हुनाले शारिरीक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भने अरुपनि असंख्य मात्रामा यस च्याउ बाट फाइदाहरु पाउन सकिने भएकोले विश्वमा अति नै प्रख्यात भएको कारण हुन । सिताके च्याउको लागि नेपालको भौगोलिक वातावरण: नेपाली भूमि विभिन्न जातका च्याउहरु खेती गर्न उपयुक्त छ । तर यो उच्च तापमान क्षेत्रहरूमा प्रविधिविना यसको उत्पादन गर्न उपयुक्त भने छैन । दिन,प्रतिदिन नेपाली युवा कृषि उद्यमीहरु सिताके च्याउ खेतीमा रुचि राख्ने किसानहरुको संख्या बढ्दै गएको देखिन्छ । तर, प्रौद्योगविज्ञहरु र प्रविधि को कमीको कारण यो व्यवसाय मा समस्या आई पर्दछन्। यस च्याउहरुको खेती गर्नाले किसानहरूलाई लाभ हुनु साथै, कृषि विकासमा हाम्रो देशलाई मद्दत गर्न सक्छ।

प्राकृतिक सिताके च्याउको खेती

नेपालमा सिताके च्याउ खेतीको तालिम भन्नाले एक देखि तीन दिन भित्र सिताके च्याउ खेतीको तालिम दिई सिकाईने गरिन्छ । यसरी कम समयमा सिकाइने च्याउ खेती प्रविधियुक्त नभई साधारण मौसमी वातावरणमा फलाइने च्याउ हुन। यसरी फलाइने प्रकि्यालाई प्राकृतिक सिताके च्याउको खेती भनिन्छ। नेपालमा नव युवा उद्यमीहरुले सिताके च्याउ खेती सम्बन्धी ज्ञान हासिल गर्न चाहेमा, जाडोयाम लाग्नेबित्तिकै अर्थात् कार्तिक देखि फागुन महिना सम्म उपयुक्त हुन्छ।

  • च्याउ (Mushroom) र बिउ ( Spawn)

च्याउ यो एक प्रकारको ढुसी बाट बनेका हुन्छन। च्याउहरु धेरै प्रकारका हुन्छन जसमध्य खानुहुने च्याउ Edible mushrooms र विषादी च्याउहरु Non Edible mushrooms हुन्छन । खानहुने च्याउहरुमा मुख्यतया Shiitake Mushrooms, Nameko Mushrooms, Enoki (or Enokitake) Mushrooms, Eringi (King Oyster Mushrooms), Maitake (or Hen of The Woods), Button mushrooms, Oyster Mushrooms, Morel Mushrooms. आदि आदि पर्छन। बिउ ( Spawn) भनेको वास्तवमा यो एक प्रकारको खानुहुने ढुसी हुन। ढुसी हजारौं प्रकारका हुन्छन जसमध्य खानुहुने च्याउको ढुसीलाई नेपालमा बिउ भन्ने चलन चल्तीमा आएको देखिन्छ भने बिउ भन्नुको अर्थ नै ढुसी हुन।नेपालभित्र बाह्रै महिना च्याउ फलाउन सक्ने प्रविधि नभएकै कारणले गर्दा यहाँ सिकाइने च्याउ उत्पादन प्रकि्यालाई प्राकृतिक सिताके च्याउ खेती भनी भन्न सकिन्छ। प्राकृतिक अवस्थामा फलाउनकोलागि जापानमा Mori Sangyo कम्पनिको बीउ “Mori Niku Maru” भन्ने जातको प्रयोग गरिन्छ। यस बिउको प्रयोग Dry shiitake बनाउनको लागि प्रसिद्ध छ भने यसबाट सिताके च्याउ फल्नलाई १८ देखि २४ महिना लाग्दछ र यो 50 वर्ष पुरानो प्रविधि भएको देखिन्छ। नेपालमा भित्रिएको बिउ Mori कम्पनिको अनुमति बिना भित्र्याइएको देखिन्छ भने Mori Sangyo कम्पनिले नबुझ्ने गरि M 290 नाम दिई नेपालमा चलनचल्तीमा ल्याइएको यसबिउ, व्यवसायिक च्याउखेती नभई घरेलू तथा प्राकृतिक खेती मात्र यसले गर्दछ। यस विषयमा सिताके च्याउ खेती कर्मीहरु लाई ज्ञान नभै सिताके च्याउखेती उद्योगमा सफल हुन नसक्नु को मुख्य कारण बन्न गएको देखिन्छ। त्यस्तै No Brand का बिउहरु CHINA तथा अरु देशहरु बाट पनि प्रसस्त मात्रामा सिताके च्याउको बिउहरु नेपालमा भित्रिएका छन्। यी बीउहरु प्राय नेपालको सिजन जाडोयाम सुरु हुनेबित्तिकै तापक्रम 14℃ – 18℃ हुने मौसम October देखि February ३- ४ महिना मात्र सिताके च्याउको उत्पादन हुने गर्दछ ।

सिताके च्याउ फलाउनको लागि समुन्द्रि सतहभन्दा १२ सय मिटर ( ४००० फिट) अग्लो ठाउँमा यसको खेती उपयुक्त्त देखिन्छ भने नेपालको भौगोलिक वातावरण यस सिताके च्याउ खेतीकोलागी अतिनै उपयुक्त देखिन्छ। यसरी प्राकृतिक तरिकाले खेती गर्दा उत्पादनमा स्थिरता कायम गर्न त गाह्रो नै हुन्छ जसले गर्दा बजारको माग भएको बेला उत्पादनमा वृद्धि र माग नभएको बेला उत्पादनलाई घटाउन नसकिने हुन्छ। यसको मुल कारण भन्नु नै प्रकृतिले दिएको मौसममा भर पर्नु पर्ने भएकोले हो ।

व्यवसायिक सिताके च्याउको खेती

ब्यवसायिक सिताके च्याउ खेती गर्नुकोलागि सर्वप्रथम वर्ष भरि फल्ने बिउ रोज्नु जरुरी हुन्छ। सिताके च्याउको बिउहरु धेरै प्रकारका हुन्छन। जस्तै E 206, E 312, E 103, E 630, E 506 आदि यी बिउहरु वर्ष भरिनै फाल्न सक्ने बिउहरुमा पर्दछन। र यसका साथै प्राविधिक ज्ञान वृक्षा ( रुखहरुको जात) ढुसी, तापमान, सापेक्षित आद्रता, समुद्र / जमीन माथिको ऊचाइ (altitude), उत्पादित च्याउको गुणस्तर, उत्पादित च्याउको बजारीकरण, र उच्च प्रविधि ग्रीनहाउसहरुको विषयमा ज्ञान हुनु अत्ति नै जरुरी हुन्छ ।

व्यवसायिक सिताके च्याउको खेती भन्नाले बजारको मागअनुसार वर्षभरि व्यवस्थित तरिकाले च्याउ उत्पादन गर्ने कुरालाई बुझिएको छ। व्यवसायिक सिताके च्याउखेती दुई प्रकारका हुन्छन। १. काठको मुढामा बिउ रोपेर गरिने प्रविधि २. काठको धुलोलाई ब्लक बनाई बिउ रोपी गरिने प्रविधि।

काठको मुढामा बिउ रोपेर गर्ने प्रविधि, यो लागतको हिसाबले सस्तो र काम गर्ने सैली पनि सजिलो नै हुन्छ र यो बिउ रोपेको ४ देखि ६ महिना भित्र च्याउ फाल्न सुरु हुन्छ भने यसको जीवन अवधि ३ देखि ५ वर्ष सम्म यसबाट फल पाप्त गर्न सकिन्छ। काठको धुलोलाई ब्लक बनाई च्याउ खेति गर्दा बिउ रोपेको ३ महिना भित्रनै च्याउ फल्न सुरु हुन्छ। एकचोटी च्याउ फलिसकेपछि काठको धुलो बाट बनेको ब्लक काम नलाग्ने हुन्छ र पुन फेरी ब्लक बनाउनुपर्ने हुन्छ। यो खेती गर्नुलाई धरै प्रकारका स्वचालित मेसिनहरुको जरुरी पर्दछ जुन लागतको हिसाबले सुरुमा निकै लगानी गर्नु पर्ने हुन्छ। यी दुवै तरिका बाट खेती गर्नलाई भने वातावरण अनुकुलित ग्रिनहाउस भित्र गरिनु आवश्यक हुन्छ । सिताके च्याउको खेती गर्दा कम्तिमा पनि दुई प्रकारको ग्रिनहाउसहरुको जरुरी हुन्छ जसमा एउटा Sleeping room र अर्को कोठा Harvesting room. Sleeping room: जहाँ मुढाहरुमा च्याउकोबिउ रोपिसकेपछि २०-२५ डिग्री तापमान भएको कोठामा राख्नु पर्ने हुन्छ। यो कोठालाई Sleeping room भन्ने गरिन्छ। यो कोठामा च्याउ फलाउने काम हुँदैन, यहाँ मुढाहरुमा राखिएको बिउलाई मुढा भित्र बिउ राम्ररी मुढाका सबै ठाउँहरुमा फैलाउने काम गरिन्छ।Harvesting room:यो कोठामा च्याउलाई मुढाहरु बाट उमार्ने अर्थात् फलाउने काम गरिन्छ। यस कोठाको तापमान १४-१८ डिग्री भएको हुनु पर्दछ।

  • उच्च प्रविधि ग्रीनहाउस भित्र यसको खेती गर्नाले ढुसी, तापमान, सापेक्षित आद्रताहरुलाई नियन्त्रण गर्न धेरै नै सहज हुन्छ । समुद्र / जमीन माथिको ऊचाइ (altitude) को कुरालाई ध्यानमा राखी स्थापित ग्रीनहाउसहरुको ठाउँ हेरी तापमानलाई नियन्त्रण गर्नमा सहज हुनुको साथै उत्पादित च्याउको गुणस्तर, उत्पादित च्याउको बजारीकरण गर्न पनि धेरै सहज हुने गर्दछ । यो प्रक्रिया अपनाएमा नेपालको जुनसुकै ठाउँमा पनि यसको खेती गर्न सकिन्छ। नेपालको तराईक्षेत्रमा भूभाग समथर भएको हुन्छ, जसले गर्दा यो वातावरण अनुकुलित ग्रिनहाउस स्थापित गर्न पहाडी भेग भन्दा तराई क्षेत्र नै बढी उपयुक्त देखिन्छ। यसरी ग्रिनहाउस भित्र खेती गर्नुको मुख्य कारण कृषकले बजारको माग हेरि उत्पादन गर्न सकिने हुन्छ ।

उदाहरणको लागि बजारमा च्याउको माग बदेको बेला उत्पादनमा वृद्धि र माग नभएको वेला उत्पादनलाई नियन्त्रण गर्नुको साथै चाहिएको खण्दमा उत्पादनलाई बन्द पनि गर्न सकिने हुन्छ । यसरी व्यवस्थित ढङ्गबाट उत्पादनलाई नियन्त्रण, गुणस्तरमा वृद्धि र साथै नोकसानी हुनु बाट पनि जोगाउन सक्नेभएकै कारणले गर्दा वातावरण अनुकुलित ग्रिनहाउस भित्र खेती गर्ने प्रविधि बिदेशहरूमा प्रसिद्ध र लोकप्रिय छन् । लामो समयसम्म फल दिने यस मुढामा गरिने सिताके च्याउ खेतीको विशेषता भन्नु नै एकपल्ट बिउ राखे पुग्ने र काठको आयु ३ देखि ५ वर्ष सम्म सिताके च्याउको उत्पादन हुने गर्द छ, यद्यपि मुढाहरुको उत्पादन आयु घट्दै जाने भएकोले, काठको मुढामा व्यवसायिक सिताके च्याउ खेती गर्नलाई क्रमबद्धरुपमा ३ वर्षसम्म यसको खेती गरिनु आवश्यक हुन्छ । उदाहरणको लागि गतवर्ष १ हजार मुढामा खेती गरिएको छ भने यो वर्ष र आगामी वर्ष एक एक हजार मुढा थपी ३ वर्ष अवधिमा जम्मा गरि ३ हजार मुढा पुग्दछन । यसरी चौथौं वर्ष लागेपछि, सुरुमा गरिएको १ हजार मुढालाई नष्ट गरिँदै जानुपर्ने हुन्छ, जसले गर्दा च्याउ खेती कर्मी संग सधैं जम्मा गरि ३ हजार मुढाहरु मात्र हुने गर्दछ । १ हजार मुढाबाट सुरु गरिने सिताके च्याउ खेति ३००० मुढा सम्म पुग्दा यसलाई चाहिने क्षेत्रफल दुई रोपनी जग्गाको आवश्यक पर्दछ। यसरी सिताके च्याउ खेती गरिनाले उत्पादनमा स्थिरता कायम हुन्छ। स्मरणरहोस् नेपालमा प्रविधि नभित्रिएका कारण अहिले सम्म गर्दै आएको सिताके च्याउको खेती व्यवसायिक नभई प्राकृतिक उत्पादन भएको र मुढाहरुको आयु घट्दै जानु र नथपिनुको कारण उत्पादनमा ह्रास हुनुको मुख्य कारणहरु हुन्।

नेपालमा गरिएको अनुसन्धान बाट सिताके च्याउ फल्न सक्ने रुखहरु निम्न प्रकार छन्।

कटुस, सौर, लाखुरे, बाँझ, खस्त्रो, खरी, मघुवा, ओखर जातका कडा रुखहरुमा पर्दछ भने उत्तीस जातको रुख हाम्रो अनुसन्धान बाट नेपालमा रातो र सेतो उतिस दुई प्रकारका जाति पाइने गरेको देखिन्छ भने रातो उतिस सेतो उतिसको दाँजोमा अलि कडा हुने भएको देखिन्छ जसबाट सिताके च्याउको खेती गर्न सकिन्छ भने सेतो उतिस नरम र हलुका भई यसको भित्रि बनावट कडा रुखहरुको तुलनामा उदाहरणको लागि पाउरोटीमा जस्तै ठाउँ ठाउँमा खोक्रो भएको जातको रुखमा पर्दछ जसले गर्दा मुढा भित्र बिउ सर्नलाई कडा रुखहरुको तुलनामा दोब्बर समय लाग्नुको साथै मुढा नरम र हलुका भएकै कारण उत्पादनमा पनि ह्रास हुने गर्दछ।

सिताके च्याउको लागि मुढाको कटान

यस च्याउको खेती गर्नुकोलागि जापानमा गरिएको अनुसन्धानले गेडा फल्ने कडा रुखहरु र रुखको उमेर २०वर्ष भएको उपयुक्त देखिन्छ भने मुढाहरुमा बिउ रोप्नको लागी काटेको रुखभित्रको आद्रता औसत 60% हुनुपर्ने हुन्छ। नेपालको भौगोलिक सन्दर्भमा बीउ रोप्ने समयको अगाडी रुखलाई काट्दा हांगाबिंगा र पातहरु समेत हुनेगरी घाम लागेर गर्मी हुने ठाउँ भएमा 15 दिन, घाम नलाग्ने शितल ठाउँ भएमा 30 दिन सम्म सुताएर राख्नुपर्ने हुन्छ। यस्तो प्रक्रिया गर्नाले रुखमाभएका पातहरु सुकेर गएको कुरालाई निश्चित गरेपछि मात्र रुखलाई काटी 3 फुट्को मुढाहरु बनाई घाम नलाग्ने ठाउँमा चाङ लगाएर छोपेर राख्नु पर्दछ। यसरी तयार पारिएको मुढाहरुमा आद्रता औसत 60% हुने भएकोले सिताके च्याउको बिउ रोप्न सकिने अवस्थाको हुन्छ। यदि समय नमिली बिउ राख्न ढिलो भई मुढाहरु सुकेर गएको खण्डमा बिउ रोप्ने कार्य रोक्नु पर्दछ। सुकिसकेको मुढाहरुमा बिउ रोप्नाले मुढाहरु सबै संदूषण (Contamination) हुने अर्थात् च्याउको ढुसीहरु सबै मर्न गई च्याउ नफल्नुको कारण बन्दछ। यदी मुढाहरु सुकेको जस्तो महसुस भएमा सिताके च्याउको बिज्ञ संग परामर्स लिनु राम्रो हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker