जीवनीविचार/ब्लग

नयाँपुस्ताबाट बेखबर बन्दै गएको एउटा नाम

स्तम्भकार -ज्ञानु अधिकारी

सपना भुलाई सारा आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ

एक बिहान बानेश्वरको सुरुचिटोलमा अवस्थित शिव अधिकारी (वि.सं. २०१०–२०६०) को घरमा पुग्दा यस्तो लाग्यो, यो गीत सायद उनले आफ्नै लागि लेखेका हुन् । पढेर आधाअधुरै छाडेका किताबहरू, ठुलाठुला रजिस्टर कापीमा लेखेका उपन्यासका पाण्डुलिपिहरू, पूरा हुनै लागेका रिसर्च आर्टिकलहरू, खोजतलास गरेर सङ्कलन गरिएका विभिन्न महत्वपूर्ण सामग्रीहरू सबैसबै अलपत्र परेका थिए । घरधनीविहीन घरको माथिल्लो तलाको एउटा बन्द कोठाभित्र पन्ध्र वर्ष (पन्ध्र वर्ष अघि २०६० पुस २७ गते जसको निधन भएको थियो)देखि यत्तिकै अवस्थामा रहेका यी महत्वपूर्ण सामग्रीहरूले वर्तमान साहित्यिक पर्यावरणमाथि अनेकौँ प्रश्नहरू गरिरहेझैँ लाग्थ्यो । आफ्नो देशको भाषा, साहित्य र पत्रकारिताका लागि जीवनभरि मरिमेट्ने हरेक साहित्यकार, पत्रकार, अनुसन्धानकर्ता आदि सबैको नियति यस्तै हुने हो ? व्यक्तिगत खुसी, परिवारको चाहना , आफन्तहरूको अपेक्षाबाट निरपेक्ष रहेर उनले गरेका कार्यहरू के उनका लागि मात्र थिए ? उनीबाट नेपाली साहित्य, पत्रकारिता र गीतसङ्गीतले केही पनि प्राप्त गरेन ? यस्ता स्रष्टाहरूलाई भोलिका पुस्तासम्म पु¥याइदिने कसले ? साहित्यमा नवीनताको खोजी गर्ने चिन्तक तथा स्रष्टामाथि चासो राख्ने कसले ? गुट, वाद, सङ्गठनभन्दा बाहिर रहेर के कुनै साहित्यकार बाँच्न सक्दैन ?

एक समयकी प्रभावशाली कविसमेत रहेकी सरला बिष्ट शिव अधिकारीकी श्रीमती हुन् । शैली र सुक्ति दुई छोरीका साथमा आध्यात्मिक क्षेत्रमा लागेकी उनी भारतमा नै बसोबास गर्दै आएकी छिन् । यसैले पनि साहित्यकार अधिकारीका लेखन, प्रकाशनका साथै प्रकाशमा नआएका अन्य पक्षहरू ओझेलमा परेका छन् । उनका फुटकर लेख, निबन्ध र रचनाहरू कुनकुन पत्रिकामा प्रकाशित छन् ? प्रकाशित गर्नका लागि विभिन्न संस्था तथा व्यक्तिहरूलाई दिइएका पाण्डुलिपिहरू कुनकुन थिए ? ती सबै प्रकाशित भए वा भएनन् ? उनले प्रारम्भ गरेका अन्य कामहरू केके थिए ? यस बारे उनका घरपरिवारका कसैलाई पनि जानकारी छैन र उनीहरूले यस सम्बन्धमा चासो दिएको पनि पाइँदैन ।

साहित्यका सबै विधामा शिव अधिकारीले महत्वपूर्ण कृति र रचनाहरू दिएका छन् । खासगरी उनका कविता, उपन्यास, नाटक र निबन्धका गरी एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । २०२९ मा ‘बालक सिद्धार्थ’ शीर्षकको किशोर नाटक लेखेर सर्वप्रथम आफ्नो प्रतिभा र साहित्यिक चेत प्रस्तुत गरेका यिनको सो कृति एसियन सांस्कृतिक केन्द्र जापानद्वारा पुरस्कृत मात्र नभई अङ्ग्रेजी, हिन्दी, उर्दू र अन्य भाषामा समेत अनुवाद भयो । यस सफलताबाट प्राप्त हौसला र प्रेरणाले उनी निरन्तर बौद्धिक र प्रयोगधर्मी साहित्यलेखनतर्फ अग्रसर भइरहे ।

उनका विदिशा, चेष्टा, आखेट, पुँश्चलीजस्ता उपन्यास, दिगन्त सारथी, हाडमासुको पहाड, सम्प्रति, हिमालको हालचालजस्ता कवितासङ्ग्रह, त्रासदी मुद्राहरू, तासको जामा र अरू तीन नाटक, सिंहासन, अन्यथा आशयजस्ता नाटक कृतिहरू, विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व र विचार कृतिका साथै अन्य प्रशस्त फुटकर निबन्धहरू प्रकाशित छन् । उनका फुटकर निबन्धहरूमध्ये कलकत्ता इज विग सिटी, जनआन्दोलन डायरी र टनकपुर उवाच महत्वपूर्ण छन् । यिनका कविता र नाटकमा विभिन्न किसिमका प्रयोग र बौद्धिकता पाइन्छ भने उपन्यास सामाजिक पक्षका विविध विषयलाई टिपेर सरल शैलीमा लेखिएको पाइन्छ ।

उनका साहित्यिक कृतिहरूको अध्ययन गर्दा तुलनात्मक रूपमा नाटक विधामा उनी सबैभन्दा सशक्त देखिन्छन् । परम्परागत लेखनभन्दा पृथक् रहेर यिनले महत्त्वपूर्ण समसामयिक विषयमा प्रयोगवादी नाटक लेखेका छन् । समाज, संस्कृति र राजनीतिलाई विषय बनाई लेखिएका पूर्णाङ्की र एकाङ्की नाटकहरूमा समकालीन सामाजिक तथा राजनीतिक विसङ्गतिमाथि व्यङ्ग्य गर्दै स्वैरकल्पनाको प्रयोगसमेत गरिएको छ । २०४८ सालको नाटक महोत्सवमा प्रज्ञाप्रतिष्ठानमा प्रदर्शन भएको तासको जामा नाटक र सो सङ्ग्रहमा समेटिएको आशमाया शीर्षकको नाटक टेलिनाटकका रूपमा समेत चर्चित रह्यो । यस नाटकको चालीसवटा शृङ्खला नेपाल टेलिभिजनबाट प्रशारण गरिएको थियो । पिछडिएका ज्यापू समुदाय र तिनको संस्कृतिको चित्रण गरी लेखिएको प्रस्तुत नाटकमा सो समुदायको पछौटेपनका कारण र तिनका समाधानका बारेमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

अधिकारीका साहित्यकार र पत्रकार गरी सार्वजनिक जीवनका मुख्य दुईवटा पाटा छन् । यी दुबै क्षेत्रमा उनी स्वतन्त्र र निर्बाधरूपमा अगाडि बढिरहे । बानेश्वरबाट शङखमूल जाने बाटोमा पर्ने आफ्नै घरमा सुरुचि पत्रिकाको अफिस खोलेपछि त्यस ठाउँको नाम सर्वप्रथम सुरुचि टोल उनैले राखेका थिए । २०३५मा नेपाल ल क्याम्पसबाट जागिरे जीवन प्रारम्भ गरेका उनी साझा प्रकाशन, जनसङ्ख्या आयोग, मीनभवन क्याम्पस आदिमा समेत जागिरे भए । कसैको हस्तक्षेप र दवाव मन नपराउने र स्वतन्त्रतामा कत्ति पनि सम्झौता गर्न नचाहने उनले जागिरे जीवनबाट नै राजिनामा दिएर पत्रकारिता र स्वतन्त्र साहित्य लेखनलाई आफ्नो रोजाइको क्षेत्र बनाए । २०४२ मा देशान्तर साप्ताहिक पत्रिकाको स्तम्भ लेखकका रूपमा पत्रकारिता प्रारम्भ गरेका उनी पछि त्यसै पत्रिकाको सम्पादक भए । सुरुचि, नवसुरुचि साप्ताहिक पत्रिकाका साथै गोरखापत्र दैनिकमा सम्बद्ध रही उनले महत्वपूर्ण कार्य गरेका छन् । विशेष गरी राजनीतिक पत्रकारका रूपमा परिचित यिनले देशको राजनीतिक प्रतिकूलतामा समेत निर्भीक रूपमा पत्रकारिता धर्म पूरा गरिरहे ।

शिव अधिकारी नेपाली साहित्य र पत्रकारिता क्षेत्रका एक प्रभावशाली व्यक्तित्व हुन् । उनले आफ्नो जीवनकालभरि नेपाली साहित्य र पत्रकारितालाई अँगालेर समाजका विभिन्न विषय, व्यक्ति र प्रवृत्तिमाथि कटाक्ष गरेर लेखिरहे । प्रतिकूल परिस्थितिमा पनि निर्भीक भएर विचार र चेतना छरिरहे र पत्रकारिताका माध्यमबाट राजनीतिक विसङ्गतिमाथि प्रहार गरिरहे । यसरी लेखनमा सक्रिय रहेकै अवस्थामा २०६० पुस २७ गते उनको असामयिक निधन भयो र निधन भएको पनि पन्ध्र वर्ष बितिसकेको छ । तर यस बीचमा उनलाई उनका समकालीन पत्रकार तथा साहित्यकार साथी, उनले योगदान दिएका संस्था, उनका लेखन मन पराउने पाठक आदिका साथै उनकै परिवारले पनि औपचारिक रूपमा सम्झेको देखिँदैन । उनका गीत मन पराउने धेरै छन् तर उनी को हुन् भनेर चिन्नेहरू कम हुँदै गएका छन् । स्वाभिमान र स्वतन्त्रतामा कहिल्यै सम्झौता नगर्ने अधिकारी आफू पनि अरूको वैयक्तिक स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप गर्दैनथे । विभिन्न संघ, संस्था र शैक्षिक संस्थाहरूमा समेत आबद्ध भएका उनी आफ्नो स्वाभिमानी स्वभावकै कारण कतै पनि लामो समय संलग्न रहेनन् र बरु स्वतन्त्र रूपमा पत्रकारिता र लेखनमा सक्रिय रहे । उनले लेखेका र प्रशस्त ख्याति कमाएका केही पुस्तकहरू अहिले बजारमा पाइँदैनन् । उनको आफ्नै घरमा समेत उनका सबै प्रकाशित कृतिहरू छैनन् । साझा प्रकाशन, प्रज्ञाप्रतिष्ठान लगायतका प्रकाशन संस्थाबाट प्रकाशित कृतिहरूको दोस्रो संस्करण निकाल्नेबारे न त प्रकाशकले तत्परता देखाएका छन्, न त घरपरिवारले नै चासो राखेका छन् । यसरी उनका प्रकाशित तथा अप्रकाशित कृतिहरू बजारसम्म पुग्ने स्थिति नबनेकाले पनि पछिल्लो पुस्ता उनको बौद्धिक लेखन चेतना र विचारको गहिराइ जान्नबाट वञ्चित भएका छन् ।

उनी जीवनको अन्तिम क्षणसम्म सक्रिय थिए । त्यतिबेला उनको लेखन उत्कर्षकालमा नै थियो । पचासको दशकको अन्त्यतिर उनका विभिन्न विधाका कृतिहरू प्रकाशित हुँदै थिए । अनुभव, भोगाइ, अध्ययन र सङ्गतका कारण लेखनीले द्रूततर रूपमा गति लिइरहेकै समयमा उनी यस संसारबाट हराए । लेख्दालेख्दैको कविता पूरा गर्न भ्याएकै थिएनन्, लेखिसकेको उपन्यासको नाम राख्न बाँकी नै थियो । एउटा नाटक सङ्ग्रह प्रेसमा जान तयार थियो । महत्वपूर्ण विषयमा रिसर्च आर्टिकल सम्पन्न हुनै लागेको थियो तर उनी यसरी गए कि, उनका सबै वेग आवेग एक्कासी ठप्प रोकियो । उनका अपूर्ण कार्यलाई पूर्णता दिने र उनका बारेमा खोजखबर गर्ने उत्तराधिकारी कोही भएनन् ।

धादिङको सिरुवानीमा सामान्य कृषक परिवारमा जन्मिएर सङ्घर्षमय यात्राबाट आफ्नो पृथक् पहिचान बनाएका उनको गुमनाम हुँदै गएको परिचय देखेर यस्तो लाग्छ कि, केही आफ्ना आसेपासे मान्छेको जोरजाम पार्न नसक्ने र प्रशस्त पैसा जम्मा गर्न नसक्ने साहित्यिक व्यक्तित्वहरू क्रमशः हराएर जानेछन् इतिहासबाट र त्यस्ता मान्छेहरूलाई मात्र भावी पुस्ताहरूले चिन्नेछन्, जसले ठूलाठूला कोष जम्मा गरेर, संस्थाहरू खोलेर र प्रशस्त रकम खर्च गरेर साहित्यमा लगानी गरिरहेका हुन्छन् । नेपाली साहित्यमा गौरवमय इतिहास बनाएका सशक्त स्रष्टा शिव अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली !हरेकपल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker