मोरङमा अचम्मको घटना :आफ्नै घरमा आगो लगाएर छिमेकीलाई ताप्न बोलाएपछि…

विराटनगर।
मोरङको रंगेली नगरपालिका ९ का ३० वर्षीय अविनारायण भण्डारी बेलुका होहल्ला गर्दै गाउँतिर निस्किए। उनी एकोहोरो भनिरहेका थिए, ‘मैले घरमा आगो फुकिदिएको छु, ताप्नु होला।’ अविनारायण त्यही कुरा दोहोर्याउँदै गाउँतिर दौडिरहेका थिए।
मानसिक बिरामी रहेका उनले भनेका कुरा धेरैले वास्तै गरेनन्। पत्याएनन् पनि। तर रातकाे समयमा आगोसँगै धुवाँको मुस्लो देखेपछि छरछिमेकी सबै आत्तिए। नभन्दै नजिकै घर रहेका उनका काका नारायण भण्डारीले निस्किएर हेर्दा दाजु इन्द्र भण्डारीको घरमा दनदनी आगो दन्किइरहेको देखे। त्यतिबेला मात्रै उनले चाल पाए भतिजो (दाजुका छोरा) अविनारायणले आफ्नै घरमा आगो लगाए छन्।
आफ्नै घरमा आगो लगाएर छिमेकीलाई ताप्न आग्रह गर्दै दौडिएका अविनारायणलाई भने धेरै खोजी गर्दा पनि नभेटिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए। इन्द्रका छोरा अविनारायण आफैँले आगो लगाउँदा एक तले दुईवटा पक्की घर, गाईगोठ र बाख्रा फार्मममा क्षति पुगेको छ। अविनारायणको मानसिक सन्तुलन ठीक भएको नपाइएको प्रहरीको भनाइ छ। प्रनि दाहालले घटनामा ८ लाख रुपैयाँ बढीको क्षति भएको जानकारी दिए। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।