साहित्य

लियो टोल्सटोयको कथा : ‘थ्री क्वेस्चन्स’ नेपाली अनुबाद

[mashshare]

नेपालमा सहि बिचार र सहि ब्यक्तिसंग सल्लाह नगरि देशका महत्वपुर्ण निर्णय गर्नाले  देशले बिकासको गति लिन नसकिरहेको अवस्था रहेको वर्तमान परिस्थितीमा सहि व्यक्ती र सहि सोचको बिकास र खोजी गर्ने हो  भने देशको विकास हुन सक्छ भन्ने बिज्ञहरुको भनाईरहेको छ । सहि सोच र बिचारले कसरि बिकासमा प्रभावित पार्न सक्छ, सहि बिचार के हो, यहि कुरालाई सहि सबित गर्न लियो टोल्सटोयको कथा तीन प्रश्नहरू सान्दर्भिक रहेको  देखिन्छ ।
लियो टोल्सटोय नामले संसारभर प्रसिद्ध रहेका रुसी लेखक लेव निकोलायेविच टोल्सटोय(१८२८-१९१०)लाई अहिलेसम्मकै सबैभन्दा उत्कृस्ट लेखकमध्ये एक मानिन्छ । उनका उपन्यासहरू ‘वार एण्ड पिस’ (१८६९) र ‘एन्ना करेनिना’ (१८७७) लाई यथार्थवादी आख्यान क्षेत्रको मास्टरपिसका रुपमा लिइन्छ । उनको अहिंसावादी प्रदर्शन सम्बन्धिका लेखहरूले महात्मा गान्धी, मार्टिन लुथर किंग जुनियर लगायतका २० औं सताब्दीका राजनीतिक नेतृत्वहरूलाई प्रभावित पारेको थियो । प्रस्तुत छ टोल्सटोयको कथा ‘थ्री क्वेस्चन्स’लाई अनुप जोशीले नेपाली अनुवाद गुरेका हुन् ।

तीन प्रश्नहरू

धेरै पहिलेको कुरा हो, एउटा देसमा एकजना राजा थिए। राजा एक दिन आफु कसरि सफल हुने भन्ने कुरामा सोचमग्न भएर बसेका थिए त्यो बेला राजालाई लाग्यो कि यदी उनलाई केही कुरा सुरु गर्ने सही समय थाहा भयो, सल्लाह लिनलाई सही व्यक्ति को हुन् र गलत व्यक्ति को हुन् भन्ने थाहा भयो र अझ आफूले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कार्य के हो भनेर थाहा भयो भने उनी आफूले आँटेका कुनै पनि कार्यमा असफल हुनेछैनन् ।

यस्तो सोंच दिमागमा सलबलाउन थालेपछि राजाले आफ्नो राज्यमा घोषणा गरे कि यी सबै कुराबारे आफूलाई जसले ज्ञान दिन्छ उसलाई ठूलो इनाम मिल्नेछ ।

राजाको यस्तो वाणी सुनेर देशभरिका शिक्षित र विद्वान व्यक्तिहरू राजालाई आफ्नो उत्तर लिएर आए तर ती सबैले राजाका प्रश्नहरूलाई आ-आफ्नै तवरले सम्बोधन गरे ।

पहिलो प्रश्नको जवाफस्वरूप केहीले भने कि हरेक कार्यका लागि सही समय पहिचान गर्नका लागि अगाडि नै आगामी महिना, वर्ष र दिनहरूलाई लिएर पूर्वयोजना बनाइराख्नु पर्दछ । र सधैं पूर्वयोजना अनुरुप नै चल्नुपर्छ । तब मात्र कुनै पनि कुरा सही समयमा गर्न सम्भव हुन्छ । अरुले भने कुन समय सही हुन्छ भनेर अग्रिम नै निर्णय लिन असम्भव रहेको बताए । त्यसैले वर्तमानमा के भइरहेको छ त्यसलाई नै ध्यानपूर्वक विचार गरेर त्यस समयका लागि कुन कार्य सबैभन्दा महत्वपूर्ण हो, त्यो गर्नुपर्ने सुझाए । तर त्यसका लागि राजाले बौद्धिक व्यक्तिहरूलाई सल्लाहकार नियुक्ति गर्नु आवश्यक रहेको ठहर्याए जसले राजालाई कुन समयमा के गर्ने भनेर उचित सल्लाह दिनेछन् ।

त्यस्तै दोस्रो प्रश्नलाई लिएर पनि राजासामू धेरैखाले उत्तरहरू प्रस्तुत भए । केहीले भने कि राजालाई सल्लाह लिनका लागि सबैभन्दा उचित व्यक्तिहरू राजाको सल्लाहकार र मन्त्रिहरू नै हुन् । कसैले भने पुजारीहरू सल्लाह लिनका लागि सबैभन्दा उचित व्यक्ति भएको तर्क गरे । त्यस्तै केहीले डाक्टर र केहीले योद्धाहरूलाई सबैभन्दा उचित सल्लाहकार हुने धारणा राखे ।

सबैभन्दा महत्वपूर्ण पेशा के हो भन्ने तेस्रो प्रश्नमा केहीले संसारको सबैभन्दा महत्वपूर्ण काम विज्ञान भएको जिकिर गरे । अरुले भने युद्धकौशललाई सबैभन्दा ठूलो माने र कसैले भने धार्मिक श्रद्धालाई नै सबैभन्दा ठूलो कार्य ठहर्याए ।

व्यक्तिपिच्छेको फरक फरक जवाज आएकाले राजाले कुनै पनि जवाफमा सहमत हुन सकेनन् । र उनले कसैलाई इनाम पनि दिएनन् । तर अझै पनि आफ्ना उत्तरहरू पाउनका लागि व्यग्र रहेका उनले एक साधुलाई सम्पर्क गर्ने निर्णय गरे जो आफ्नो ज्ञानका लागि निकै प्रसिद्ध थिए ।

साधु एउटा जंगलमा बस्ने गर्थे र उनी केवल साधारण मानिसहरूसँग मात्र भेटघाट गर्थे । तसर्थ राजाले सामान्य मानिसको भेष धारण गरेर साधुलाई भेट्न निस्किए । र साधुको कुटीमा पुग्नु अगाडि आफ्नो घोडा,अंगरक्षक र हतियारहरू सबै वरै छाडेर एक्लै प्रस्थान गरे ।

राजा पुग्दा साधु आफ्नो कुटी अगाडिको जमिनमा खनिरहेका थिए । राजालाई देख्नेवित्तिकै उनले राजालाई प्रणाम गरे र पुन: आफ्नो खन्ने काममा फर्कें । साधु निकै कमजोर र गलेका थिए , आफ्नो कोदालोले जमिनमा प्रहार गर्ने वित्तिकै उनी प्रत्येकपल्ट थाक्थे र भारी सास फेर्थे ।

राजा उनको सम्मुखमा गएर भने, ‘म तपाईंको शरणमा आएको छु, ज्ञानी साधु, मेरा तीन प्रश्नहरू राख्नका लागि । मैले सही समयमा सही कार्य गर्न कसरी सिक्न सक्छु? मलाई सबैभन्दा आवश्यक व्यक्तिहरू को हुन् र कसलाई मैले अरुलाई भन्दा धेरै ध्यान दिएर सुन्नुपर्छ? र कस्ता कार्यहरू सबैभन्दा महत्वपूर्ण हुन् र मैले तिनमा ध्यान दिन जरुरी छ?

धुनले राजाका सबै कुरा सुने तर केही पनि उत्तर दिएनन् । उनी आफ्नो हातमा थुक लगाउँदै खनिरहे । ‘तपाईं धेरै थाक्नुभएको छ’, राजाले भने, ‘यो कोदालो मलाई दिनुहोस् म तपाईंको लागि केही सेवा गर्छु।

‘धन्यवाद’, साधुले भने र राजालाई आफ्नो कोदालो दिंदै आफू जमिनमा आराम गर्न बसे ।

दुईवटा गह्राहरू खनिसकेपछि राजा रोकिए र पुन: आफ्ना प्रश्नहरू दोहोर्याए । तर साधुले अझै पनि केही उत्तर दिएनन् र आफ्ना हातहरू अगाडि बढाउँदै भने:

‘अब तपाईं केही समयका लागि आराम गर्नुहोस् र मलाई काम गर्न दिनुहोस्’ । तर राजाले उनलाई कोदालो फिर्ता दिएनन् र खनिरहे । एक घण्टा बित्यो र अर्को घण्टा पनि । घाम रुखहरूको पछाडि छोपिन लाग्यो र राजाले कोदालो रोके र भने:

‘ज्ञानी पुरुष, म तपाईंसम्म आफ्ना प्रश्नहरूको जवाफ खोज्दै आइपुगेको छु । यदी तपाईं उत्तर दिन सक्नुहुन्न्न भने भन्नुहोस् म घर फर्किन्छु ।

‘कोही दौडदै आएको छ’, साधुले भने, ‘को रहेछ हेर्न जाऔं त! राजाले फरक्क फर्केर हेरे र एउटा दाह्रीवाल व्यक्ति जंगलबाट दौडदै आइरहेको देखे । त्यस व्यक्तिले आफ्नो हातले पेटलाई थिचिरहेको थियो र त्यहाँबाट रगत बगिरहेको थियो । राजा भएको ठाउँमा आइपुग्ने वित्तिकै ऊ बेहोश भएर जमिनमा चित्कार छाड्दै लड्यो । राजा र साधुले त्यस व्यक्तिको लुगा खोलिदिए । उसको पेटमा ठूलो घाउ थियो । राजाले निकै सावधानीपूर्वक त्यसलाई धोइदिए र आफ्नो रुमालओ पट्टी बाँधिदिए । तर अझै पनि रगत बहन छाडेन र राजाले रगतले भिजेको पट्टी निकाले र त्यसलाई धोएर फेरि बाँधिदिए । रगत जान छाडेपछि त्यस व्यक्ति केही समयमा नै होशमा आयो र पानी माग्यो । राजाले पानी ल्याएर उसलाई पिलाए ।

घाम अस्ताइसकेकाले वातावरण शितल भइसकेको थियो । राजाले साधुको मद्दतले घाइते व्यक्तिलाई कुटीसम्म लगे र उसलाई ओछयानमा सुताइदिए । खाटमा सुतिरहको व्यक्तिले आफ्नो आँखा बन्द गर्यो र शान्त थियो । दिनभरिको थकानले थाकेका राजा पनि त्यहीं निदाए । उनी भोलिपल्ट बिहान उठ्दा एकछिन त आफू कहाँ छु र सामुन्नेको दाह्रीवाल व्यक्ति को हो भनेर छुट्टाउन उनलाई मुस्किल भयो ।

‘मलाई क्षेमा गर्नुहोस्!’, राजा ब्युँझिएर आफूलाई हेरिरहेको देख्नेवित्तिकै दाह्रीवाल मानिसले निकै कमजोर आवाजमा भन्यो ।

‘म तिमीलाई चिन्दिनँ र मसँग तिमीलाई क्षेमा दिनुपर्ने कुनै कारण छैन’, राजाले भने । ‘तपाईंले मलाई चिन्नुहुन्न, तर म तपाईंलाई चिन्दछु । म तपाईंको त्यो शत्रु हो जसले तपाईंमाथि बदला लिन्छु भनेर कसम खाएको थिएँ किनभने तपाईंले उसको भाइलाई मृत्युदण्ड दिनुभएको थियो र सारा सम्पत्ति हडप्नु भएको थियो । मलाई थाहा थियो कि तपाईं साधुलाई भेट्न एक्लै जानुभएको छ र मैले तपाईं फर्कने बेलामा हत्या गर्ने योजना बुनेको थिएँ । तर दिन बित्यो र तपाईं फर्कनु भएन । त्यसैले म आफूले बुनेको जालबाट तपाईंलाई खोज्दै बाहिर आएँ । तपाईंको एक अंगरक्षकले मलाई पहिचान गर्यो र घाइते बनायो । त्यहाँबाट बल्लतल्ल उम्केर म भागिरहेको थिएँ । यदी हजुरले मेरो घाउमा पट्टी नबाँध्नु भएको भए म रगत बगेर मर्थे । मैले तपाईंलाई मार्न चाहेको थिएँ तर तपाईंले भने मेरो ज्यान बचाउनु भयो । अब यदी म बाँचे भने र तपाईंले चाहनुभयो भने म तपाईंको सबैभन्दा वफादार दास भएर सेवा गर्नेछु र मेरा सन्तानलाई पनि सोही गर्न आदेश दिनेछु । मलाई माफ गर्नुहोस्!’

राजा आफ्नो शत्रुसँग पनि मित्रता गाँसेकोमा निकै खुसी भए । र एक असल मित्र पाएकोमा उनले उसलाई माफी मात्र दिएनन् आफ्नो नोकर र व्यक्तिगत डाक्टरलाई उसको उपचार गर्न र रेखदेख गर्न पठाउने वाचा गरे । साथै उनले उसको गुमेको सम्पत्ति फिर्ता गर्ने पनि वचन दिए ।

घाइते मान्छेलाई त्यहीं छाडेर राजा बाहिर निस्केर साधुलाई खोज्न थाले । उनले घर फर्कनु अघि एकपल्ट साधुसँग आफ्नो प्रश्नको जवाफ दिन अनुनयविनय गर्ने निधो गरे । साधु अघिल्लो दिन खनेको खेतमा बीउ रोपिरहेका थिए ।

राजा साधु भए निकट गए र भने:

‘म अन्तिमपल्ट तपाईंसँग मेरो प्रश्नको उत्तर दिन प्रार्थना गर्दछु, हे ज्ञानी पुरुष!’

‘तपाईंले जवाफ पाइसक्नुभएको छ!’, आफ्नो काममा व्यस्त साधुले राजातर्फ हेर्दै भने ।

‘तपाईंले जवाफ पाइसक्नु भएको छ!’, आफ्नो काममा व्यस्त साधुले राजातर्फ हेर्दै भने ।

‘कसरी? तपाईं यो के भनिरहनुभएको छ?’, राजाले अलमलमा पर्दै सोधे ।

‘देख्नुभएन तपाईंले?’ साधुले जवाफ दिए । ‘यदी तपाईंले हिजो मेरो कमजोरी माथि दया नदेखाउनु भएको भए र मेरो लागि नखनिदिनुभएको भए र सीधै घर फर्कनुभएको भए त्यो व्यक्तिले तपाईंलाई आक्रमण गर्थ्यो र तपाईंको ज्यान जान सक्थ्यो । त्यसैले सबैभन्दा महत्वपूर्ण समय भनेको तपाईंले बारी खनिरहेको बेला थियो । र म नै सबैभन्दा महत्वपूर्ण व्यक्ति थिएँ । र मेरो लागि दया गर्नु नै तपाईंको सबैभन्दा महत्वपूर्ण कार्य थियो । पछि जब त्यो व्यक्ति दौडदै हामीतिर आयो सबैभन्दा महत्वपूर्ण समय भनेको तपाईले उसलाई हेरचाह गरेको समय थियो । किनकी यदी तपाईंले उसलाई उपचार नगर्नु भएको भए उसको मृत्यु हुने थियो र तपाईंसँग मित्रता गाँसिने थिएन । तसर्थ ऊ नै सबैभन्दा महत्वपूर्ण व्यक्ति थियो । र तपाईंले उसको लागि जे गर्नु भयो त्यो नै सबैभन्दा महत्वपूर्ण कार्य थियो । त्यसैले याद गर्नुहोस्, जीवनमा एक क्षण मात्र आउँछ जो सबैभन्दा धेरै महत्वपूर्ण हुन्छ ।  वर्तमान ! यो सबैभन्दा महत्वपूर्ण समय हो किनभने यो मात्र त्यस्तो समय हो जतिबेला यसउपर हाम्रो शक्ति हुन्छ । सबैभन्दा महत्वपूर्ण व्यक्ति ऊ हो जोसँग तपाईं हुनुहुन्छ र कुनै पनि व्यक्तिलाई थाहा हुँदैन कि उसको अरु कसैसँग कुनै सम्झौता हुन्छ । र सबैभन्दा महत्वपूर्ण कार्य उसलाई राम्रो गर्नु नै हो किनभने त्यही उदेश्यका लागि नै मानिसलाई यो जीवनमा पठाइएको हो!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker