ओलीमा नीति, सिद्धान्त र नैतिकता छैनः भुषाल

विभाजित नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुषालले ओलीले संसद् विघटन गरेर देशलाई बहुपक्षीय द्वन्द्वमा धकेलेको आरोप लगाएका छन्।
नेकपाको दाहाल–नेपाल समूहले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा भुषालले ओलीले निरंकुशता र राज्यव्यवस्था ध्वस्त पार्ने अभियान बनाउँदा मात्रै दाहाल–नेपाल समूहको असहयोग भएको भन्दै अन्य कुनै पनि काममा अवरोध नगरेको बताए।
ओलीको सत्ता जतिसक्यो छिटो अन्त्य नभएसम्म घण्टा–घण्टामा देश बर्बाद हुनेसमेत भूसालले दाबी गरे। ओलीले हार्नैपर्छ, जति ढिला हार्छन्, त्यति नेपाल बर्बाद भइरहन्छ भन्दै उनले ओलीमा नीति, सिद्धान्त र नैतिकता नभएको पनि बताए।
प्रधानमन्त्रीको कुर्सीमा बसेर संविधान र संसदमाथि ‘कु’ गरेको आरोप नेपाललाई लागेको भन्दै बहुमत पाएको कम्युनिष्ट सरकारको प्रधानमन्त्री नै त्यसको मतियार भएको कालो इतिहास लेखिएको पनि उनले बताए। उनले संविधान र संसदमाथि कु गर्नेलाई सय वर्ष जेल हुनुपर्ने पनि बताए।
‘विकास र समृद्धिका विषयमा हामीले कहिले पनि काम गर्न रोकेनौं’, भुषालले भने, ‘संविधानविपरीत काम गर्न, संसद विघटन रोक्न र शान्ति प्रक्रिया नबिथोल्न भने पटक पटक सम्झाएका हौं।’
उनले एमसिसी गरौं तर नेपालको हितमा गरौं भन्दा काम गर्न नदिएको आरोप लगाएको उनले टिप्पणी गरे।