विचार/ब्लगविशेष

……..अनि मैले मृत्युदण्डको आवाजलाई बुलन्द गर्ने निर्णय गरेँ

 –राजन राउत

‘बाबा, मान्छेले किन बलात्कार गर्छन ? भन्नु न बाबा ।’ जवाफ दिन मन थियो नानु बलात्कार मान्छेले गर्दैनन् पशुले गर्छन् । फेरि सम्झेँ पशुले नि कहाँ बलात्कार गर्छन र ? अनि निकै बेर नाजवाफ भएँ म । अबोध छ वर्षीया छोरीको यो प्रश्नको उत्तर दिने सामथ्र्य कुन बाउसँग होला ?

थाहा थियो उसले बलात्कार भनेको बुझ्दिन । तैपनि उसको प्रश्नले निकै गम्भीर बनायो । फेसबुकमा भएको बलात्कार गरि मारिएका बालिकाको तस्बिरको व्याख्या उसकी आमाबाट सुनेपछि भिडियो कलमा एक्कासी उसले यो प्रश्न मलाई तेस्र्याएकी थिई । ‘नानु के हो बलात्कार भनेको ? तिमीलाई थाहा छ त ? तिमी बुझ्दिनौ’ मैले भनेँ, ‘बुझ्छु नि म, मलाई मामुले भन्नुभा ठूलो मान्छेले मारेको रे ।’ यतिले रोकिइन उ फेरि प्रश्न थप गरी ।

‘ठूलो मान्छेले सानो मान्छेलाई किन मार्छन बाबा ? अनि पुलिस, आर्मीले बन्दुकले हान्दैनन् सानु मान्छे मार्दा ? यसपटक भने उ मेरो जवाफलाई पर्खेर बसी । फेरि पनि उसको प्रश्न उस्तै गम्भीर थियो । यसपटक मैले जवाफ दिनै पर्दथ्यो । गलत काम गर्यो भने पुलिस र आर्मीले बन्दुकले हान्छन् र मार्छन् भनेर पटकपटक उसलाई भनेको पनि हो । अनि उसको विश्वासलाई मर्न दिइँन मैले । फेरि पनि मैले त्यो अबोध छोरीलाई ढाँटे ।

‘मार्छन् नि नानु । यति साना नानीहरु मार्नेलाई कहाँ बाँच्न दिन्छन् र ? तिनीहरुलाई त पाता फर्काएर कुटीकुटी पुलिसले मार्छन् ।’ छोरीलाई त विश्वस्त बनाएँ मैले, तर आफूले भने आफ्नै मन थाम्न सकिँन । झण्डै तीन बर्ष पुग्न लाग्दा पनि बलात्कार गरि मारिएकी तेह्र बर्षिय निर्मलाले न्याय पाउन सकेकी थिईनन् । मृत्युदण्ड त कहाँ न कहाँ, कानूनले व्यवस्था गरेको कैद सजाय पनि गर्न सकिएको थिएन । वर्षौ बित्दा पनि बलात्कारी हत्याराको पत्तो समेत लागेको थिएन । 

निकैबेर हाम्रो समाजलाई केलाई रहेँ । कस्तो समाजमा बाँचेका छौँ हामी ? जहाँ दैनिक चार जना बालिका बलात्कृत हुन्छन् । तिमध्ये कैयौँ अपराध खुल्ने डरले मारिन्छन् । अनि हाम्रो समाज अपराधी लुकाउन अभिशप्त रहन्छ । कैयौँ बलात्कारका घटनामा पीडितलाई आर्थिक प्रलोभनमा पारी मेलमिलाप गराईन्छ । दुरदराजका कति अपराध न्यायको गर्भमै तुहाईन्छ ।

बलात्कार गरी मारिएकी बैतडीकी किशोरी भागरथी भट्टको तस्बिर सामाजिक सञ्जालभरि भाइरल थियो । नागरिक दैनिकले कभर पेजमा बालिका बलात्कारको डरलाग्दो तथ्यांक सार्वजनिक गरेको थियो । 

‘निर्मलादेखि भागरथीसम्म ३३४७ बालिका बलात्कृत, अपराध लुकाउन १७ को हत्या ।’ नयाँ पत्रिकाको कभर स्टोरी थियो ।

एकपटक यो तथ्यांकमा घोत्लिएँ । अढाई वर्षको यो अवधिमा यतिधेरै बालिका बलात्कार र हत्याको डरलाग्दो यो तथ्याँङ्कले हाम्रो समाजलाई नराम्ररी गिज्याईरहेको थियो । पहिलोपटक आफू बलात्कारी लिङ्गमा परेकोमा लज्जाबोध भयो । अनि शीर झुकाएर उही तस्बिरहरुमा टोलाईरहेँ, जहाँ निर्मला, सम्झना, गुलाव र भागरथीका तस्विरहरु थिए । ति तस्विरहरु नियालिरहँदा अनेक कुराहरु मनमा खेलिरहे । एकपछि अर्का बालिकाहरु बलात्कारपछि मारिरहँदा कतै जघन्य अपराधमा हाम्रो कानूनले सजाय पो कम गर्यो कि ?
जघन्य अपराधमा कठोर कानून बनाउन सकेको भए शायद आज निर्मलाहरु कोपिलामै चुँडिने थिएनन कि ? गुलाबहरु कोपिला नलाग्दै चिमोटिने थिएनन् कि ? किन हामी कानूनलाई कठोर नबनाउने ? थुप्रै विकसित देशहरु जहाँ बलात्कार जस्तो जघन्य अपराधमा मृत्युदण्ड दिईन्छ । हामी विकासशील देशमा राज्यको ढुकुटी खर्च गरेर अपराधी पालिरहेका छौं । जसले गर्दा बलात्कार पछिका हत्यामा कमि आउन सकेको छैन ।

नेपालको संविधान २०७२ मा मृत्युदण्डको व्यवस्था गर्न सकेको भए आज निर्मलाहरु कापि कलम लिएर स्कूल गइरहेका हुने थिए । मेरी छोरीकै उमेरकी गुलाब शाह मेरी छोरीझैं एल.के.जी.मा पढ्न गइरहेकी हुने थिइन् । आजको यो बलात्कारको कहालीलाग्दो तथ्यांक देख्नु पर्ने थिएन । सोच्दासोच्दै निकै भावनामा बगेछु म । मेसेन्जरमा फेरि कल आएपछि सम्हालिएर रिसिभ गरेँ ।

‘बाबा, आज मलाई बोर्डिङ्गमा पुर्याउन तपाईँ आफै आउनु है । तपाईँ आउनुभएन भने म बोर्डिङ्ग नजाने’ भिडियोमा आउनासाथ छोरीले भनि ।
‘म त विदेशमा छु छोरी धेरै टाढा । नानुलाई ममीले पुर्याइदिई हाल्नुहुन्छ नि’ मैले भनेँ ।

‘नाइँ तपाईँ नै आउनुपर्छ । बाटोमा कति डरलाग्दो मान्छेहरु हुन्छन् । ममी त धेरै डराउनु हुन्छ’ यसपटक पनि सानी छोरीले ठूलो कुरा गरी ।

अब उ मैले सम्झाएर सम्झने हालतमा थिइन । बोर्डिङ्ग नजाने वाहना चाहिएको थियो उसलाई त्यसैमा जिद्दी शुरु गरी । अब छोरीलाई त्रसित बनाउने उसकी आमासँग रिस उठ्यो मलाई । अनि तुरुन्तै पोखि पनि हालेँ ।

‘निकै बहादुर काम गरिछौं छ वर्षीया छोरीलाई बलात्कार हत्या पढाएर त्रसित बनाउन के आवश्यक थियो र ?’

‘बहादुरी र आवश्यक्ताको कुरा नगरौं होला महोदय । छ वर्षीया बालिका बलात्कार गरेर मार्ने यो बलात्कारी समाजका पुरुषहरुको बहादुरिता पनि देखियो । देखिबक्स्यो होला नि बालिका बलात्कारको ग्राफ । छि ! यस्तो बलात्कारी समाजमा कसरी हुर्कन्छन् छोरीहरु ? कुन मनोविज्ञानले हाम्रो समाजमा छोरीहरु बाँचिरहेका छन सोच्नुभएको छ ?’ एउटा तिखो वाण प्रहार भयो मतर्फ । मानौ म नै त्यो बलात्कारी हुँ । 

प्रकृतिले सृजना गरेको पुरुष जाति दोषी हो या यो समाजले उत्पादन गरेको बलात्कारी चिन्तन । यदि यहि समाजले बलात्कारी जन्माएको हो भने त्यसको दोष किन समाजका पुरुषलाई मात्र ? निकै बेर सोचेर पनि मैले उनलाई दिने गतिलो जवाफ भेटिनँ । जे भेटियो त्यो भन्ने हिम्मत आएन । बरु उनका नै एकपछि अर्का प्रश्नहरु थपिरहे ।
‘किन यस्ता जघन्य अपराधमा राज्यले मृत्युदण्ड दिन सक्दैन ? हरेक बलात्कार र हत्यापछि सडकमा लागेका मृत्युदण्डका नारी आवाजलाई किन यो पुरुषप्रधान समाजले सुन्दैन ? के एकपछि अर्की बालिका बलात्कार अनि हत्या निरन्तर भइरहँदा पुरुष हृदय दुख्दैन र ?

कि त श्रृष्टि नारीबिना नै चल्छ भन, समाजका ए पुरुषहरु हो, छोरीहरु गर्भमै छानी छानी हत्या गर्छौ, जन्मिएर टुकुटुकु हिँड्न नपाउँदै बलात्कार गरी हत्या गर्छौ, जवान भएपछि एसिड छ्याप्छौ, जिउँदै जलाएर मार्छौ । आखिर जघन्य अपराधीहरुलाई मृत्युदण्ड दिन किन खुट्टा कमाउँछौ ? मानव अधिकारका नाममा यी अपराधीहरु पालेर कहिलेसम्म बालिकाको प्राण लुट्न प्रोत्साहित गरिरहन्छौ ?’

योभन्दा बढी सुन्ने सामथ्र्य मसँग भएन । यो समाजको पुरुष हुनुमा नै धेरथोर दोषी म नि ठहरिएँ । अब कठघरामा उभिएर बोल्ने ल्याकत नि मसँग भएन । अनि मैले मोवाइलको कनेक्शन टुटाएँ । एउटा अपराधीजस्तै शिर निहुराएर तिनै तस्विरहरु हेरिरहेँ केवल उहि प्रश्नहरु निर्मला र सम्झनाहरुले पालैपालो सोधिरहेको भान भयो । अनि मनमा भूकम्पका सानाठूला झट्काहरु आइनै रहे ।

किन सक्दैनौं हामी बलात्कारी हत्यारालाई झुन्ड्याउन ? अपराधीको मानवअधिकारको पक्षमा बोलेर हाम्रा छोरीहरुको बाँच्ने अधिकारलाई किन हनन् हुन दिइरहने हामी ? यसपटक आफैभित्र एउटा ठूलो कम्पन आयो अनि मनमनै सोचेँ यो कम्पन हाम्रो समाजले महशुस गर्यो या गरेन तर म मा जस्तै समाजका सबै लिङ्गले महशुस गर्नु पर्ने होइन र ? 

अर्को दिन उनले दुई वटा तस्विर स्क्रिन सट गरेर पठाइन । एउटा सेतोपाटीमा छापिएको ‘महिला मार्चमा सहभागीहरुलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की ।’ शिर्षकको समाचारसहित महिला मार्चको तस्विर थियो भने अर्को तस्विरमा सार्वजनिक पद धारण गरेकी कुनै महिलाको तस्बिर राखेर खुल्लम् खुल्ला बलात्कार गर्ने धम्कि दिँदै कुनै पुरुषले फेसबुकमा स्टाटस राखेको थियो ।

उनले पठाएका तस्विर हेरेर लज्जाबोध गर्नुबाहेक कुनै रिप्लाइ नै थिएन मसँग ।  

केहि उनका मेसेज हेरेर पनि रिप्लाइ नगरेपछि भिडियो कलमा फेरि उस्तै आक्रोशित मोडमा देखा परिन् उनी । मलाई खासमा बोल्ने मनै थिएन । उनले लेखेका मेसेजहरुले मलाई पनि दोषी ठहर गरिरहेका थिए । आफूलाई निर्दोष सावित गर्न पर्याप्त तर्क पनि त थिएनन् मसँग । 

‘के बलात्कार पुरुषको प्रकृति प्रदत्त हतियार हो ? बलात्कारलाई हतियार बनाएर धम्क्याउने कठै पुरुषहरु ! लोक लाज पनि लाज र शर्मले शीर झुकाएर लजाउँछ । तिनलाई जन्माउने आमाले स्याबासी दिए होलान् र ? के यो राज्यको कमजोर कानूनको उपज होइन र ?’ उनी अझ अघि बढ्न खोज्दै थिइन् तर एघार वर्षीय छोराले उनलाई डिस्टर्बगर्दबोल्नशुरुगर्यो।
‘बाबा, ममी त खाली यस्तै समाचार मात्र लाउनुहुन्छ टिभिमा । अनि फेसबुकमा पनि त्यहि हेर्नुहुन्छ ।’ टिभिमा आफू अनुकुलको च्यानल हेर्न नपाएपछिको उसको आफ्नै गुनासो थियो । यद्यपि बलात्कार शब्दलाई रेप भनेर उ बुझ्ने भइसकेकोथियो।
‘धेरै पोल नलगा, तँ पनि यो समाजको छोरो मान्छे होस, समाजको बलात्कारी जातको होस, जन्मेर किशोर अवस्था पार नगर्दै बलात्कार र हत्या गर्न अघि सर्ने त्यहि पुरुष जातिको होस् ।’ निन्याउरो मुख लगाएर उ साईड लाग्यो । पक्कै उसको बाल मष्तिस्कले यतिबेला पुरुष भएर जन्मनुमा हीनताबोध गर्यो होला । यतिबेला पनि मलाई केहि बोल्ने हिम्मतआएन।
‘सुन्नुभो होला नि आजको समाचार, भागरथीको हत्यारा बलात्कारी आफूभन्दा तल्लो कक्षामा पढ्ने नाताले भाई पर्ने नै रहेछ । प्रहरीले सार्वजनिक गरिसक्यो ।’ यतिबेला भने उनि केहि नरम देखिइँन ।

‘ए हो र ! यति सानै उमेरमा यति ठूलो अपराध गर्न सक्यो त त्यसले ?’ मैले आश्चर्य प्रकट गरेँ ।

‘निम्न माध्यामिक तहदेखि नै हत्या र बलात्कारको सजाय मृत्युदण्ड हुन्छ भनेर हाम्रो समाजले पढाएको भए आज भागरथीहरु मारिने थिएनन् । छोरीहरु लोग्ने मानिससँग डराएर हिँड्नु पर्ने थिएन । यो समाज नै बलात्कारी हो जहाँ किशोरावस्थामा नै किशोरहरू बलात्कार र हत्या गर्न प्रेरित हुन्छन् ।’

‘तिमीलाई थाहा छ ? छिमेकी भारतमा वर्षेनी कैयौंलाई मृत्युदण्ड दिइए पनि बलात्कारका घट्ना घटिरहेका हुन्छन् ।’ मैले उनका कुरामा काउन्टर गरेँ ।

‘मलाई राम्रो सँग थाहा छ महोदय । यदि मृत्युदण्ड त्यहाँ नहुँदो हो त हजारौँ गुणा हत्या र बलात्कारका घट्ना बढने थिए भनेर त विभिन्न भारतीय सर्वेक्षणले नै देखाइरहेका छन् नि । हाम्रो देशमा पनि मृत्युदण्डको व्यवस्था हुँदो हो त बालिका बलात्कारको यो तथ्यांक निकै कम हुने थियो । केहि अपराधीले मृत्युदण्ड अवश्य पाउने थिए, तर बालिका बलात्कार भई मारिँदा सिङ्गो समाज जसरी स्तब्ध हुन्छ त्यसरी नै मृत्युदण्डको सजाय पाउँदा समाजले न्यायको अनुभूत गर्ने थियो ।’ उनका गहकिला तर्कले फेरि केहि झट्का महशुस हुँदै थियो बिचमै छोरी देखा परी र फेरि पनि प्रश्न गरी ।

‘बाबा, ठूलो मान्छेले सानु मान्छेलाई मार्यो भने पुलिसले मार्छन् है बाबा । दादाले त मार्दैनन् भन्छ । मार्छन् नि है बाबा ! कुटीकुटी मार्छन् नि है बाबा ! बन्दुकले पो हान्छन् त दादा ! है बाबा !’ उ बिचबिचमा रोक्किँदै कहिले दादातिर हेर्दै अनि मेरो जवाफ पर्खँदै बोल्दै गई । स्विकारोक्तिको टाउको हल्लाउनु शिवाय यसपटक पनि म केहि बोल्न सकिँन ।
फोन काटिएपछि मृत्युदण्डबारे अनेक प्रश्न मनमा खेलिरह्यो । बालिका बलात्कार गरि हत्या गर्ने श्रृंखला बढिरहेको हाम्रो समाजको बलात्कारी चिन्तन परिवर्तन गर्न अझै कति बालिकाले नफक्रँदै जीवन उत्सर्ग गर्नुपर्ने हो ? कहिलेसम्म हाम्रो समाज यो पीडामा स्तब्ध भइरहने ?

केहि बर्ष जेल जीवन बिताउँदैमा समाजले त्यो जघन्य अपराधलाई बिर्सन सक्ला ? आखिर जघन्य अपराधीलाई मृत्युदण्ड दिने कठोर कानून हामी किन नबनाउने ? हाम्रा छोरीहरुको बाँच्ने अधिकार सुरक्षित गर्न हामी यो आवाज किन नउठाउने ? अनि मैले मृत्युदण्डको आवाजलाई बुलन्द गर्ने निर्णय गरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker