केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टीमा नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसे

काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधवकुमार नेपाल पक्षको कन्द्रीय कमिटी बैठक बसिरहेको छ। शंखमूलको एक होटलमा बैठक अहिले पनि जारी छ।
अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टीमा नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि आगामी रणनीति तय गर्न बैठक बसेको हो।
भेलामा सहभागी नेता रघुजी पन्तका अनुसार शनिबारको भेलाले अध्यक्ष ओलीलाई तत्काल कन्द्रीय कमिटी बैठक डाक्न आग्रहसहितको निर्णय गरिने तयारी छ।
शुक्रबार दिउँसो आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर ओलीले आफू अल्पमतमा भएको २३ सदस्यीय स्थायी समिति खारेज गरेका थिए भने नेपाल पक्षका नेताहरुले पाएको थप जिम्मेवारी पनि खोसेका थिए।
स्थायी समितिमा नेपाल पक्षमा १३ र ओली पक्षमा ९ जना पदाधिकारी छन्।
ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष महासचिव बाहेक अरु पदाधिकारीको जिम्मेवारी खोसेका छन् भने माओवादी पक्षबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गराएका छन्।
केन्द्रीय कमिटी बैठकले एमालेको विदेश विभाग प्रमुखबाट माधव नेपाललाई हटाएर डा. राजन भट्टराईलाई जिम्मेवारी दिएको छ।
बैठकले प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमति प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णालीमा एमलाल कँडेल र सुदूरपश्चिममा भीमरावललाई हटाएर लेखराज भट्ट इन्चार्ज तोकेको छ। गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल भने यथावत रहेका छन्।
ओली पक्षीय केन्द्रीय कमिटि बैठकले संगठन विभागको प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिएको छ।
पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैले राखेका छन्। त्यस्तै प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारीबाट योगेश भट्टराईलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकिएको छ।
One Comment