श्री कृष्णको कूटनीतिले मात्र पाण्डवहरूले महाभारतको युद्ध जितेका थिए

पुरुषोत्तम पौडेल ।
कूटनीति र रणनीतिको कुरा गर्दा महाभारतको कथा महत्वपूर्ण लाग्छन्। महाभारतमा कृष्णले अपनाएका नीति ज्यादै रोचक छन्। पाण्डव र कौरवबीच एकअर्काप्रति उत्पन्न वैमनस्यताले अन्ततः युद्धको रूप लिएपछि, त्यसमा पाण्डवलाई विजयी बनाउन युद्ध पूर्व र युद्धका दौरान कृष्णले कस्ता नीति किन अपनाए भन्ने विश्लेषण महत्वपूर्ण हुन सक्छन्।
महाभारतमा कुल १८ पर्व रहेका छन्, जसमा भीष्म पर्व, द्रोण पर्व, कर्ण पर्व, शल्य पर्व र सौप्तिक पर्व युद्धसँग सम्बन्धित हुन्। भीष्म पर्वमा युद्ध नीतिबारे बताइएको छ र कृष्ण अर्जुन संवादका रूपमा रहेका भागवत गीता पनि यही पर्वअन्तर्गत पर्छन्। महाभारतको युद्ध पनि भीष्म पर्वबाट सुरु हुन्छ। कृष्णले महाभारतको युद्ध रोक्ने प्रयास नगरेका भने होइनन्। शाान्ति स्थापना गर्न शान्ति दूतका रूपमा हस्तिनापुर गएका पनि हुन्। तर, उनको कटिबद्घतामा प्रश्न गर्ने ठाउँ भने रहन्छन्।
कौरव सेनामा जस्तै पाण्डव सेनामा पनि युद्ध गर्न आतुर रहेका थुप्रै योद्धा थिए। उनीहरू श्रीकृष्ण शान्ति दूतका रूपमा हस्तिनापुर जाने प्रस्तावविरुद्ध पनि थिए। दुवैतर्फबाट एक चरणमा दूतको आवतजावत भइसकेको अवस्थामा कृष्ण फेरि शान्ति प्रस्ताव लिएर हस्तिनापुर जानुको कुनै औचित्य नरहेको उनीहरूको बुझाइ थियो। तर, कृष्ण हस्तिनापुर जाने निर्णयमा अर्कै कारणले पुगेका हुन सक्छन्, युद्ध रोक्ने र नसकेको खण्डमा पाण्डवलाई शान्तिप्रिय रहेको देखाउने। यो कृष्ण कूटनीतिको नमुना हो।
कदाचित कृष्ण पनि युद्ध होस् नै भन्ने चाहन्थे तर शान्ति प्रस्ताव अस्वीकार गरेको आरोप कौरव पक्षलाई जाओस् भन्ने उनको इच्छा हुन सक्छ। युद्ध रोक्न कृष्णको मनसाय रहेको हुँदो हो त शान्ति दूतका रूपमा हस्तिनापुरमा रहँदा कृष्णले दुर्योधनको आतिथ्यता स्वीकार गरी दुर्योधनलाई आफ्नो शान्ति प्रस्तावमा मनाउने प्रयास गर्न सक्थे। महामन्त्री विदुरका घरमा गई दुर्योधनको आतिथ्यता अस्वीकार गरी आफ्नो शान्ति प्रस्ताव पारित नहुने पृष्ठभूमि निर्माण गर्ने थिएनन्। यहाँ दुर्योधनले प्रस्ताव गरेको आतिथ्यतामा कपट लुकेको व्याख्या पनि गर्न सकिन्छ। जे होस् कृष्णले चाहेको भए महाभारतको युद्ध रोक्न सक्ने निष्कर्षसहित युद्ध समाप्तिपछि स्त्री पर्वमा युद्ध नरोकेको आरोपसहित गान्धारीले कृष्णलाई वंश नाशको श्राप दिएकी छन्।
महाभारतको उद्योग पर्वअन्तर्गत भागवत यना पर्वमा कृष्ण हस्तिनापुरमा शान्ति दूतका रूपमा प्रस्तुत हुन्छन्। शान्तिदूतका रूपमा हस्तिनापुर गएका कृष्णले १२ वर्षको वनबास र एक वर्षको अज्ञात बास जानु पूर्वको पाण्डवहरूको इन्द्रप्रस्थ राज्य पाण्डवहरूलाई फर्काउने प्रयासमा सफल हुँदैनन्। पाण्डव र कौरवबीच युद्ध हुन नदिन इन्द्रप्रस्थको विकल्पमा कृष्ण पाँच पाण्डवका लागि पाँच गाउँको माग राख्छन्। अविस्थल, वरकास्थल, मकाण्डी, ब्राणब्रत, एक कुनै गाउँको माग गर्दा पनि दुर्योधनले दिन अस्वीकार गर्छन्। कृष्णले पाँच पाण्डवका लागि उनीहरूको पूर्वराज्य इन्द्रप्रस्थको सट्टामा पाँच गाउँ किन मागे ? प्रश्न कूटनीतिक र रणनीतिक महत्वको छ।
पाँच गाउँ प्राप्त गरेको खण्डमा पाँच पाण्डवले स्वतन्त्र र सार्वभौम रूपमा ती गाउँमा आफ्नो छुट्टै राज्य सञ्चालन गर्न सक्ने थिए। उनीहरूको वीरता, धीरता र सौम्यताको इतिहास हेर्दा त्यो असम्भव पनि थिएन। क्षेत्रीय धर्मअनुसार पनि पाण्डवहरूले एकअर्कालाई समर्थन गर्दै राजसूर्य अथवा अश्वमेघ यज्ञ गर्न सक्ने थिए। जुन यज्ञले युधिष्ठिरलाई इन्द्रप्रस्थमा जस्तै फेरि सम्राट् बनाउने ल्याकत राख्ने थियो अथवा अन्य विकल्प दिने थियो। यस्तै कुरालाई दृष्टिगत गर्दा कृष्णले कुरुसभामा इन्द्रप्रस्थको विकल्पमा पाण्डवका निमित्त हस्तिनापुर राज्यको अन्य कुनै पाँच गाउँ मागेको हुनुपर्छ।
महाभारतको युद्ध सुरु हुनुपूर्व पनि कृष्णले पाण्डवहरूलाई शक्ति सञ्चय गर्न निरन्तर प्रेरित गरिराखेको घटनाले कृष्ण निरन्तर युद्धको तयारीमा त थिएनन् भन्ने प्रश्न उब्जाउँछ। दिव्य अस्त्रहरूको खोजीमा अर्जुनलाई कृष्णले कहिले स्वर्गसम्मको यात्रा गर्न लगाएका छन् भने कहिले भगवान शिवको तपस्या गर्न अथ्र्याएका छन्। अर्कोतर्फ कृष्ण कौरव सेनाको शक्ति क्षय गर्न पनि लागिपरेका छन्। सम्पूर्ण महाभारतको कथामा दुर्योधनको सबैभन्दा बढी निष्ठा कर्णप्रति थियो।
पाण्डव र कौरवकाबीच युद्घ आरम्भ हुनुअगावै उद्योग पर्वमा कृष्णले कर्णलाई उसको वास्तविक जन्मबारे बताएर किंकर्तव्यविमूढ बनाउने प्रयास गरेका छन्। आफ्नो जन्मको विषयमा अनभिज्ञ रहेका कर्णलाई उसको जन्मभेद बताउँदै पाण्डवहरूकी आमा कुन्ति नै उसकी पनि आमा रहेको बताउँछन्। कुन्तिको विवाहअघि उसको जन्म भएकाले ऊ जेष्ठ पाण्डव भएका नाताले दुर्योधनको साथ छाडी पाण्डवहरूका साथमा आउन अभिप्रेरित गर्छन्।
कर्णलाई युद्घ पूर्व उसको जन्मभेद बताउने समय चयन गर्नु कृष्णको कूटनीतिक चलाखी थियो। कर्णले कौरवको शिविर छाडेको खण्डमा पाण्डव र कौरवबीच युद्घ हुने सम्भावना कम हुने थियो। आफ्नो जन्मको वास्तविकता थाहा पाएर पनि कर्णले पाण्डवविरुद्ध युद्ध लड्ने तत्परता देखाएको खण्डमा आफ्नो असली परिचय थाहा पाएका कर्णको विचलित मानसिकताले पाण्डवलाई नै फाइदा पुग्ने कृष्णलाई थाहा नहुने भएन।
कृष्णको प्रयास असफल भएपछि कुन्तिले पनि कृष्णकै सल्लाहमा कर्णलाई सम्झाउने कोसिस गर्छिन्। कुन्तिले कर्णलाई ज्येष्ठ पाण्डवको रूपमा वरण गर्दै कर्णलाई पाण्डवहरूकै पक्षबाट युद्ध लड्न आग्रह गर्छिन्। यसरी कृष्णले यो पर्वमा साम, दाम, दण्ड र भेदको नीति अख्तियार गर्दै कौरव सेनालाई युद्ध पूर्व नै क्षय गर्ने प्रयास गरेका छन्।
महाभारतको युद्धमा सातौं पर्व द्रोण पर्व पनि महत्वपूर्ण छ। यस पर्वमा महाभारतका अधिकांश योद्धाले वीरगति प्राप्त गरेका छन्। अर्जुन—सुभद्रा पुत्र अभिमन्युको पनि यसै पर्वमा द्रोणाचार्यले रचना गरेको चक्रव्यूहमा परी निधन हुन्छ। अर्जुनलाई त्रिगड देशका राजा सुशर्माका दाजुभाइले युद्धमा अल्झाएका हुन्छन् जहाँबाट अर्जुनको फर्किने सम्भावना रहँदैन त्यही मौका छोपी व्यूह रचना गरिएको हुन्छ। अभिमन्युको मृत्युको कारणका रूपमा सिन्धु नरेश जयद्रथ देखा पर्छन्। भगवान शिवबाट अर्जुनबाहेकका चार पाण्डवलाई एक दिनको युद्धमा परास्त गर्न सक्ने वरदान जयद्रथलाई प्राप्त हुन्छ।
अभिमन्यु मृत्युको ठीक अर्को दिनको युद्धमा आफ्नो छोराको मृत्युका कारक जयद्रथलाई मार्ने, मार्न नसके अग्नि समाधि लिने अव्यावाहारिक प्रतिज्ञा अर्जुनले गर्छन्। अर्को दिनको समाप्तिसम्म पनि अर्जुनले जयद्रथ बध गर्ने कुनै सम्भावना नरहेपछि कौरव सेनाबीच रहेका जयद्रथलाई सेनाको घेरा बाहिर निकाल्न कृष्णले आफ्नो सुदर्शन चक्रले सूर्यको तेजलाई छोपी अँध्यारो बनाइदिन्छन्। फलस्वरूप दिन समाप्त भएको खुसीमा सेनाको घेरा बाहिर निस्किएका जयद्रथको बध गर्न अर्जुन सफल हुन्छन्। यसरी अग्नि समाधि लिनबाट कृष्णले अर्जुनलाई जोगाउँछन्। अर्जुनबिनाको पाण्डव सेनाको कल्पना कसैले नगरेको अवस्थामा कौरवहरूले जितिसकेको युद्धलाई कृष्णले पाण्डवहरूको पक्षमा ल्याइदिएर आफ्नो रणकौशलको अर्को नमुना प्रस्तुत गरेका छन्।
महाभारत युद्घमा पाण्डवलाई जिताउन कृष्णले कैयौँ पटक छलकपट पनि गरेका छन्। पाण्डव तथा कौरवहरूका गुरु द्रोणाचार्यलाई युद्घमा परास्त गर्ने कुनै उपाय नभएपछि कृष्णकै सल्लाहमा पाण्डवहरूले छलको सहारा लिएका छन्। अवंतिराजको अश्वस्थामा नामको हात्तीलाई भीमसेनले गदा प्रहार गरी प्राण हरेर गुरुपुत्र अश्वस्थामाको युद्घका क्रममा मृत्यु भएको प्रचार गराउँछन्। अष्टचिरञ्जीवीमध्ये एक आफ्नो छोराको मृत्युको अपत्यारिलो समाचारले भावविह्वल भएका द्रोणाचार्य सम्पूर्ण शस्त्र त्याग गरी युद्घभूमिमा सामाधि लिन बसेका बेला द्रौपदीका दाजु, पाण्डव सेनाका प्रधानसेनापति धृष्टदुयमका हातबाट मृत्यु वरण गर्छन्।
कर्ण र अर्जुनबीचको निर्णायक युद्धमा पनि कृष्णले अर्जुनलाई हारबाट जोगाएका छन्। खाण्डव वनलाई इन्द्रप्रस्थ राज्यको रूपमा विकास गर्दा खाण्डव वनमा रहेका तत्क्षक नाग र अर्जुनबीच शत्रुता कायम हुन्छ। आफ्नो पुरानो दुस्मनी साँध्न तत्क्षक नागले कर्णको नागपास बाणमा रहेर अर्जुन बधको कारक बन्ने प्रयास गरेका हुन्छन्। अर्जुनको मस्थकलाई लक्ष्य गरी कर्णले प्रहार गरेको उक्त वाणलाई अर्जुनका सारथि कृष्णले रथ भुइँमा धसाई अर्जुनको प्राण रक्षा गर्छन्।
भीमसेनका नाति र घटोत्कचका पुत्र बार्बरिकलाई युद्धमा सामेल हुन नदिनु पनि कृष्णको चलाखी थियो। युद्धमा पाण्डवका पक्षबाट युद्ध लड्ने भन्दा पनि बार्बरिक कमजोर पक्षलाई सहारा दिने विचारमा थिए। आफ्नो तीन वाणले महाभारतको युद्ध समाप्त गर्न सक्ने क्षमता राख्ने बार्बरिकको उपस्थिति मात्रले पनि सम्पूर्ण महाभारतको युद्धलाई प्रभावित तुल्याउन सक्थ्यो। यसका कारण पाण्डवहरूलाई ज्यादा बेफाइदा हुने थियो। त्यसैले कृष्णले छलद्वारा बार्बरिकको हत्या गरेर निम्तिन सक्ने समस्याबाट पाण्डवहरूलाई पहिले नै छुटकारा दिलाएका थिए।
महाभारतमा यस्ता अनेक प्रसंग छन् जहाँबाट राजनीतिक र कूटनीतिक विषयमा चाख राख्नेहरूले अनन्त ज्ञान प्राप्त गर्न सक्छन्। आज हामी यी विषयको अध्ययन गर्दा पश्चिमा लेखकहरूले केही दशक वा शताब्दीअघि लेखेका लेखमा बढी आश्रित भइरहेका छौँ। हजारौँ वर्षपहिले लेखिएका हाम्रा पूर्वीय दर्शनका ज्ञानलाई कतै हामीले अवमूल्यन गरेका त छैनौँ ?