राजनीतिविशेष

गणतन्त्रले किसुन जी बाट सिक्नु पर्ने कुरा

बालकृष्ण लम्साल
आज गणतन्त्र दिवस आजकै दिन राजतन्त्रको अन्त्य र नेपालमा गणतन्त्र स्थापना भएको थियो । गणतन्त्र आइसकेपछि नेपाली जनताले सोचेका थिए कि हामी अब अधिकार सम्पन्न भएका छौं हामीले चाहेको अवस्थामा हाम्रो अधिकारहरूको प्रयोग गर्न सक्छौं  । यो अधिकारबाट हाम्रा सन्ततिहरुको भविष्य सुनिश्चित हुन्छ, तर जनताले सोचेको जस्तो आजसम्म हुन सकेको छैन नेपाली जनता भन्दा नेता सर्वोपरि हुने गरी नेपालका राजनीतिक दलहरू अगाडि बढिरहेको अवस्था छ । यो अवस्थामा नेपाली जनता के चाहन्छन् ?यो कुरा कहिल्यै नेताहरूको कान सम्म पुग्न सकेन ।  हिजो जसको जोत उसको पोत भनेर गरिब किसानका घरमा बास बसेर युद्ध गर्ने नेकपा-माओवादी आज कुन धारबाट कसरी चिप्लिएको छ त्यो पत्ता लगाउन सकिएको छैन । यसैगरी नेपाली कांग्रेस नेकपा एमालेमा आफ्नै पीडा छन् आफ्नै बेथा छन् यो ब्यथा कुल नेपाली जनतालाई सुनाउने राजनैतिक दलमा चटारो रहेको देखिन्छ । हिजो साम्यवाद का कुरा गर्नेहरु आज समाजवाद ल्याउने कुरामा पनि भाग्न थालेका छन् । केका लागि समाजवाद?  कस्तो समाजवाद ? नेपालका लागि आवश्यक छ  ? यो राजनैतिक दलहरूको विषयवस्तु भन्दा टाढा विषय बनिरहेको छ ।  नेपाल र नेपाली जनताको भविष्य सुनिश्चित होस् तर यो चाहना आज सम्म पुर्याउने छाटकाट देखिँदैन यति कुरा हुँदै गर्दा नेपालका राजनीतिक दलहरू र तिनका नेताहरु सेवासुविधामा झुम्मिरहेको  अवस्थामा छ ।कोरोनाले  देश आक्रान्त भैरहेको छ  कैले अक्सिजनको अभाव , उपचारकालागि बेडको अभाव, आम नेपाली जनताले उपचार नपाएर मृत्युवरण गर्नु परिरहेको अवस्था छ नेपालका राजनीतिक दलहरू सत्तालिप्सामा मात्र लागेको देखिन्छ कस्तो सरकार बनाउने को प्रधानमन्त्री बन्ने ? को मन्त्री बन्ने? को राजदूत बन्ने? कसलाई  कुन पदमा नियुक्ति  गर्ने राजनैतिक दल भित्र यो भन्दा अरु कुनै अवस्था देखिँदैन । नेपाली जनताले गणतन्त्रको प्रत्याभूति गर्नका लागि के गर्नुपर्ने हो?  अब नेताहरुले एकपटक भन्दिनु पर्यो कर कति तिर्नुपर्छ प्रतिशत  तिनुपर्ने हो ?  होइन भने  जनताको बाँच्न पाउने नैसर्गिक अधिकार हनन गर्न के गणतन्त्रले चाहेको हो ? हामी सबैमा यो प्रश्न उब्जिएको छ

 मलाई गणतन्त्रमा सम्झनालायक नेपालका राजनैतिक ब्यक्तित्व स्वर्गीय कृष्ण प्रसाद भट्टराई जुन वि.सं.१९८१-२०६७ सम्म नेपालको राजनितिमा सकृय रहनु भयो ।  उहाँले आफ्नो राजनीतिक जीवनमा गरेको कामबाट हाम्रा वर्तमान नेताहरुले कैले   सिक्ने ?

 किसुनजी यस्तो नेता हुनुहुन्थ्यो

कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भएको बेलामा पनि आफ्नो जुत्तामा आफैले पालिस लगाउनु हुन्थ्यो । । शनिबारको दिन कतै जानू परे सरकारी गाडी र सुरक्षा निकाय छोडेर ट्याक्सीको प्रयोग गर्नुहुन्थ्यो ।

ठुलाबडाले घुस खाए भ्रष्टाचार गरे विरोध गर्नुहुन्थ्यो तर सानो कर्मचारी खरिदार मुखियाले १०- २० रुपैया घुस खानु अपराध होइन भन्नुहुन्थ्यो ।

 बिदाको दिन राजाले बोलाउँदा पनि कहिलेकाहीं जाने कहिले त सरकार आज बिदाको दिन हो भोलि भेटौला भनेर राजालाई जानकारी गराउनु हुन्थ्यो ।

प्रधानमन्त्री हुनु पहिले उहाँ कुपोन्डोलस्थित आफ्नो भान्जाकी घरमा बस्नुहुन्थ्यो र प्रधानमन्त्री भएर बालुवाटारमा जाँदा भागवत गिताको पुस्तक, एउटा छाता, सानो टिनको बाक्सा र पानी पिउने माटोको सुरही लिएर जानुभएको थियो। पदबाट हटेपछि पनि त्यै मात्र लिएर पुन: भान्जाको घरमा नै फर्कनुभयो ।

उहाँबाट कसैले आफ्नो काम गराउन लोभ देखाउने सम्भावना नै थिएन ।

 वि. स २०१५ सालमा देशको पहिलो सभामुख भएका, करिब २ दशक जति देशको प्रमुख पार्टीको सभापति भएका र २ पटक नेपालको प्रधानमन्त्री भएको ब्यक्तिको कुनै पनि बैंकमा खाता थिएन् । एक आना जमीनको लालपुर्जा थिएन् । अरु सम्पत्ति हुने त कुरै भएन ।

हजारौं सहिदहरुले नेपाली जनताकालागि दिएको त्याग र बलिदानीलाई सम्मान गर्दै गणतन्त्रको संस्थागत विकास गर्दै  शान्ति समृद्धि र स्थायित्व आत्मसात गर्दै नेपाली जनताको हितमा लाग्न सम्पूर्ण राजनैतिक दलका नेताहरुलाई सोच सामर्थ्य रहोस गणतन्त्र दिबसको सबैमा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker